काठमाडाैं, २४ माघ । पुस पहिलो साता सिराहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै गहुँको बिउ गोदाममा राख्यो। किसानहरुलाई वितरण गर्न भनेर राखिएको बिउ गाउँपालिकाले गोदाममै थन्क्याएको भन्दै युवाहरु आक्रोशित बने, अनि ६ पुसमा गहुँको बिउ लुटेर लगे। बिउ लुटेर लैजाने एकजनालाई प्रहरीले नियन्त्रणमा लियो र अन्य केहीलाई पनि सम्पत्ति हिनामिना, लुटपाट सम्बन्धी अभद्र अवज्ञा मुद्दा चलायो।
प्रहरीले औरही गाउँपालिकाका केही युवाहरुमाथि चलाएको मुद्दाको विराेधमा राष्ट्रिय जनमत पार्टी उभियो। अनि सरकार विरोधी आन्दोलनको ‘मक्सद’ सहित यो पार्टीका संयोजक सिके राउत किसान ‘उक्साहट’ को अभियानमा लागे। अनि राजमार्ग अवरुद्ध गरेर उनै राउतको निर्देशनमा ‘किसान आन्दोलन’ चल्यो। उनका लागि यो मधेशमा आफ्नो पार्टी ‘जनमत पार्टी’ को जनमत बढाउने अवसर थियो।
किसानलाई न्याय दिइनु पर्ने भन्दै ‘राजमार्ग बन्द’ गरेर छेडिएको आन्दोलनका ‘नाइके’ राउतका लागि लुटपाट जस्तो ठूलो अपराधको कुनै मतलवै थिएन, उनले केबल गहुँको बिउका नाममा आफ्नो पार्टीको जनमत बढाउने ‘लाभ’ मात्रै हेरिरहे। फलतः ‘गहुँको बिउ’ बाट मधेश प्रदेशमा ‘विध्वंस’ उम्रियो।
राउतको निर्देशनमा मधेश प्रदेशमा डेढ महिनासम्म आन्दोलन चल्यो। मधेश प्रदेश प्रहरी कार्यालयकाअनुसार पुस ६ गतेदेखि माघ २० गतेसम्म किसानका नाममा चलेको यो आन्दोलनका क्रममा ३० सवारी साधनमा राउतका कार्यकर्ताहरुले क्षती पुर्याए । प्रहरीसँगै मुठभेडमा उत्रिएका राउतका कार्यकर्ताहरुको आक्रमणबाट १३ प्रहरी घाइते भए भने प्रहरीले बल प्रयोग गर्दा ५ प्रदर्शनकारीहरु पनि घाईते भए। यो अवधिमा १ सय ६१ प्रदर्शनकारी नियन्त्रणमा लिएको प्रहरीले १७ जना माथि मुद्दा चलाएको छ भने १ सय ४४ जना रिहा भैसकेका छन्।
‘लामो समयसम्म चलेको आन्दोलनका क्रममा ११६ पटक विरोधका कार्यक्रम प्रदर्शनकारीहरुबाट भएको छ,’ प्रदेश प्रहरी प्रवक्ता ,प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले तेस्रो आँखासँग भने ‘अहिले भने आन्दोलन स्थगित भएको छ, सिके राउतको विज्ञप्ति प्रकाशन भएपछि आन्दोलन स्थगित भएको भनिएको छ।’
मधेशलाई टुक्रर्याउने भन्दै पूर्वी तराईमा राष्ट्रीयता विरोधी ‘बिगुल’ फुकिसकेका राउतलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मुलधारको राजनीतिमा अवतरण गरायो। मधेशी नागरिकको हितका निम्ती मधेशलाई छुट्टै राज्य घोषणा हुनुपर्ने भन्दै मधेशमा ‘पासा’ फ्याँकेका राउतले ‘मधेशको सेन्टिमेन्ट’ केही हात पारेकै थिए पनि। तर राष्ट्रीयता विरोधी मानसिकताबाट मुलधारको राजनीतिमा ‘अवतरण’ गर्न राउतलाई वैचारिक एजेण्डा के बनाउने भन्ने संकट परिरहेकाे थियो। जनमत पार्टी निर्माण गरेर कसरी मधेशको पब्लिक सेन्टिमेन्टलाई ‘क्यास’ गर्न सकिन्छ? भन्ने चिन्तनमा रहेका बेला राउतका लागि ‘गहुँको बिउ’ प्रकरण ‘ढुंगा खोज्दा देउता मिले जस्तै’ बनिदियो।
फलतः मधेशको पब्लिक सेन्टिमेन्ट क्यास गर्ने ‘लालसा’ ले मधेश प्रदेशमा तोडफोड र आगजनीका श्रृंखला हप्तौँसम्म चले। मधेशी नागरिकलाई उक्साहटमा पारेर आफ्नो पार्टीलाई मधेशमा स्थापित गर्ने ‘ख्वाब’ देखेका छन् राउतले। यो बाहेक उनका लागि जनमत पार्टीको जनमत बढाउने अन्य कुनै उपाय उनले देखेका छैनन् पनि। फलतः ‘किसान आन्दोलन’ चलाएर आफ्नो पार्टीको वैचारिक कार्यदिशाको ‘बिउ’ रोप्ने मनसाय राखेका राउतका लागि ‘जनमत’ को ‘मत’ बढाउने यो नै गतिलो उपाय हो। सांसद तथा पूर्व मन्त्री हृदयश त्रिपाठी भन्छन् ‘संगठन ठूलो बनाउने उपाय उनी (राउत) सँग अरु उपाय नै के थियो र ?’
त्रिपाठीले राउतको आन्दोलनको एक मात्रै अन्तर्य संगठन मजबुतीका लागि उनले अपनाएको ‘हतकण्डा’ मात्रै देख्छन्। ‘त्यो आन्दोलन किसानका हितका निम्ति भन्दा पनि राउतको राजनीतिक भविष्यसँग जोडिएको विषय हो,’ त्रिपाठीले तेस्रो आँखासँग भने ‘उहाँलाई वैचारिक रुपमा अगाडी बढ्न के एजेण्डा समात्ने भन्ने नै एकिन थिएन,उहाँ अलमलमा हुनुहुन्थ्यो ।’
उपेन्द्र, राजेन्द्रहरुलाई कति बाधा ?
मधेश ‘विद्रोह’ले उब्जाएका मधेशवादी दलहरुले पूर्वी तराईमा एकल प्रभाव जमाए। उपेन्द्र यादव, राजेन्द्र महतो,महन्थ ठाकुर लगाएतका नेताहरुले थालेको मधेश विद्रोह/आन्दोलनले मधेशको पब्लिक सेन्टिमेन्ट राम्रो पाए। फलतः उनिहरुले मधेशवादी नेताहरुको पहिचान कायम गरिदिए। भलै अहिले यादव,ठाकुर, महतोहरु अलग भैसकेका छन्। तथापी मधेशको जनमत यीनै यादव,ठाकुर/महतोकै शक्ति वरीपरी घुमिरहेकै थियो। तर मधेशमा आफ्नो पहिचान कायम गर्ने योजनामा रहेका सिके राउतको किसान आन्दोलनले मधेश प्रदेशको पब्लिक सेन्टिमेन्टलाई थप विभाजित पार्ने अनुमान गरिएको छ।
सांसद तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले स्वाभाविकै रुपमा मधेश प्रदेशमा सिके राउतको आन्दोलनले प्रभावित पार्ने आँकलन गर्छन्। ‘कसरी आफ्नो प्रभाव कायम गर्ने भनेर सिके राउतले थालेको आन्दोलनले विगतको मधेश आन्दोलनलाई केही प्रभावित पार्छनै,’ उनले भने ‘किसानका नाममा थालिएको आन्दोलन प्रति पब्लिक सेन्टिमेन्ट स्वाभाविकै रुपमा केही न केही जाग्छ नै ।’ त्यसो त आन्दोलनको नेतृत्व गरेका राउत स्वयंलेनै आफ्नो आन्दोलनलाई जोडेर अन्य मधेशवादी दलका नेताहरुको आलोचना सार्वजनिक रुपमै गर्नुले पनि उनको आन्दोलन किसान केन्द्रित भन्दा पनि मधेशको मास बटुल्ने नियतमा स्पष्ट देखिन्छ। उनले एउटा ट्विटमार्फत लेखेका छन् ‘काठमाडौं खाल्डोबाट राजनैतिक विश्लेषक वा मधेश मामिला जानकार भनेर ब्रान्डिङ्ग गरिएका जन्मजात जातिवादी मानसिकताबाट ग्रस्तहरूबाट जतिबेलासम्म मधेशको विषयमा राय लिइनेछ, उनीहरूबाट सदाबहार रूपमा जातीय र वर्गीय विषवमन मात्रै सम्भव छ, मधेशको यथाचित्र कदापि होइन। ’
तर जनता समाजवादी पार्टीले राउतको आन्दोलनलाई त्यति बलियो ठानेकाे छैन। सिके राउतको आन्दोलनले मधेशको पब्लिक सेन्टिमेन्ट राउतप्रति नजाग्ने दाबी जसपाका अध्यक्ष उपेन्द्र यादवको छ। यसर्थ राउतको आन्दोलनले आफ्नो पार्टीलाई कुनै असर नगर्ने उनको भनाइ छ। ‘किसानका नाममा गरिएको आन्दोलनले मधेशको पब्लिक सेन्टिमेन्टलाई कुनै असर पार्दैन,’ यादवले भने ‘फेरी त्यो आन्दोलन त मधेशकाे मुद्दा केन्द्रित आन्दोलन हैन नि,गहुँको बिउबाट उब्जिएको आन्दोलन हो नि।’
