काठमाडाैं,२५ माघ । मधेस प्रदेश अन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार अहिले बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ ।
लामो समयदेखि रिक्त प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्तागठबन्ध र प्रतिपक्षी गठबन्धनका तर्फबाट चार जनाले उम्मेदवारी दर्ता गराएपछि मतदान हुन लागेको हो । सार्वजनिक लेखा समिति सभापतिमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नरेशकुमार राययादव र प्रतिपक्षी गठबन्धनतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (कीकृत समाजवादी) का मदनसेन श्रीवास्तव र प्रतिपक्षी गठबन्धनको तर्फबाट नेकपा (एमाले) का जगतारन देवी साह सुडीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा (माओवादी केन्द्र) का जगतप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । सो समितिको सभापतिमा उहाँको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
