‘गीता’ छोएर खाएको कसम तोडेका कमल थापा  

‘गीता’ छोएर खाएको कसम तोडेका कमल थापा  


  • 13.7K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 21.1K Views

    ‘गीता’ छोएर खाएको कसम तोडेका कमल थापा  

    काठमाडौं, २५ माघ। राजनीति धर्मसँग जोडिदैन र जोड्नु पनि हुँदैन। धर्म समाजको एउटा पक्ष हो भने राजनीति समाज रुपान्तरणको सिंगो पद्धति हो। राज्यको नीति निर्माणगरी सबै धर्म, वर्ग, क्षेत्र र भूगोलका नागरिकलाई आवश्यक सुहाउँदो नीति बनाउने र त्यसलाई कार्यन्वायन गर्ने काम राजनीतिक तवरबाट हुन्छ। राजनीतिमा धेरैले कसम खाने चलन पनि छ।

    images

    राजनीतिमा कसम खानु वा खुवाउनु कत्तिको व्यवहारिक हुन्छ ? भन्ने नेताहरुले सोच्नुपर्छ होला। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले भागवत गिता छोएर खाएको कसम दुइ वर्ष टिकेन। पछिल्लो पटक उनले पार्टीको महाधिवेशनमासमेत गिता छोएर खाएको कसम नतोड्ने बाचा महाधिवेशन प्रतिनिधिकाबीच गरेका थिए। उनको बाचा दुई महिना मै तुहियो। उनले २०७६ फागुन २७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषणासभामा ती नै थापाले गीतामा हात राखेर अब कहिल्यै पार्टी नफुटाउने प्रतिज्ञा गरेका थिए। प्रतिज्ञा गरेको दुई वर्ष नबित्दै आज (मंगलबार) थापाले सनातन धर्मको पवित्र ग्रन्थ गीताको कसम तोडेर राप्रपा छाडेको घोषण गरेका छन्। थापाकाे याे हर्कतले गीताकाे अपमान भएकाे हिन्दुमा आस्था राख्नेहरूकाे तर्क छ।

    सोमबार मात्रै काठमाडौंमा आफ्नो समूहको भेला आयोजना गरेका थापाले आज गृहनगर हेटौँडा पुगेर यस्तो निर्णय गरेका हुुन्। आफू निकटस्थहरुसँग सोमबार राखिएको छलफलमा तत्काल पार्टीबाट अलग हुने वा फुटाउने नभई पार्टीभित्र देखा परेको वैचारिक अस्पष्टतासँगै नेतृत्वका क्रियाकलापका विषयमा समिक्षा भएको एक नेताले बताए। थापाको यो निर्णय टीमभित्र कसैसँग छलफल नै नभई एक्कासी आएको थापा नजिकका नेताहरुले बताउँछन्।

    पूर्व अध्यक्ष थापाले गत मंसिरमा सम्पन्न पार्टीको एकता महाधिवेहशन लगतै सार्वजनिक रुपमा राजा र निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई गाली गर्दै आएका थिए। महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपकारी भूमिकाका कारण आफूले हार व्यहोर्नुपरेको असन्तुष्टी सामाजिक सञ्जालमार्फत पोख्दै आएका थापाले निर्मल निवासबाट भएको हस्तक्षेपको छानबिन गर्न अध्यक्ष लिङदेन समक्ष पत्र लेखेर माग गरेका थिए। लिङ्देनले थापाको पत्रबारेमा खासै चासो देखाएका थिएनन् ।

    ढलिसकेको राजतन्त्रात्मक व्यवस्था र हिन्दु राज्य पुनः फर्काउँछु र नेपाललाई हिन्दु राष्ट्र नै कायम गराउँछु भन्दै पछिल्लो १५ वर्षदेखि लगातार राप्रपाको नेतृत्व सम्हालेका नेता कमल थापा अहिले उनै राजालाई सार्वजनिक रुपमा गाली गर्दै हिड्ने गरेका  थापाप्रति राजावादीहरु नै सन्तुष्ट थिएनन्। सधैँ सत्ता र शक्तिको आडमा रमाउन चाहाने थापाले आगामी फागुन ७ गते नयाँ पार्टी खोल्ने योजनाका साथ पार्टीबाट बाहिरिएको चर्चा हुन थालेको छ। उनको आगामी यात्रा कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

    के भन्छन राप्रपाका पदाधिकारीहरु :

    राजेन्द्र लिङ्देन

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गर्नु उपयुक्त कदम नभएको बताएका छन्। उनले आफूले सामाजिक सञ्जालमार्फत थापाले पार्टी परित्याग गरेको भन्ने थाहा पाएको र थापाको यो निर्णयले राप्रपाकाे आम कार्यकर्ताहरुलाई विचलित नहुन पनि आग्रह गरे ।

    ‘उहाँले पार्टी भित्र राखेका मागहरुको सम्बोधनका लागि पहलकदमी लिइरहेकै बेला यो खालको निर्णय गर्नुभयो,’ लिङ्देनले तेस्रो आँखासँग भने ‘यो कदम राम्रो भएन।’ उनले थापाले पार्टी परित्याग गर्ने निर्णय गरेर उनको आफ्नो राजनीतिलाईसमेत नोक्सानी पुर्‍याएको बताए। ‘मलाई उहाँले राप्रपा परित्याग गरेको घोषणा गर्नुहोला भन्ने लागेकै थिएन,’ उनले भने ‘तर उहाँले जुन निर्णय लिनु भयो, यो उहाँको आगामी राजनीतिक जीवनका लागि पनि राम्रो निर्णय हैन।’

    अध्यक्ष लिङ्देनकाअनुसार थापा र आफूबीचमा पार्टीभित्रको अन्तर विरोध समाधानकाे लागि वार्तासमेत भएको थियो। थापाले पार्टी समक्ष राखेका माग सम्बोधनका लागि केन्द्रीय समिति बैठक बसेर गर्ने तयारीसमेत राप्रपाले गरेको अध्यक्ष लिङ्देनले दाबी गरे।

    बुद्धिमान तामाङ

    राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषण गरेका पूर्व अध्यक्ष कमल थापाले टिममा छलफल नै नगरी अचानक निर्णय गरेको उपाध्यक्ष बुद्धिमान तामाङले बताए। सोमबार नवदुर्गा पार्टी प्यालेस धुम्बाराहीमा बोलाएको थापा समूहको भेलामा तत्काल पार्टी छाड्ने निर्णय नगर्ने बताएका थापाले आफूहरुलाईसमेत थाहै नदिई यस्तो निर्णय गरेको उनको भनाइ छ । नेता तामाङ थापाका विश्वास पात्रसमेत हुन् ।

    थापाले पार्टी नेतृत्वलाई पठाएको पत्रका विषयमा आज (मंगलबार) अध्यक्षसँग बसेर छलफल गर्ने तयारी भइरहदा थापाले यस्तो निर्णय गरेकाले उनीसँग कोही पनि नलाग्ने तामाङले बताए। पार्टीभित्र आफ्नो मागको विषयमा सुनुवाइ नभएको विषयमा छलफल राखेर ब्रिफिङ गरेका थापाले केही समयम पर्खने बताएका थिए।  टिममा छलफल नै नगरी पार्टीमा नरहेको घोषणा गर्ने कमल थापाका पाछडि आफूसहित कोही पनि नलाग्ने तामाङले प्रष्ट पारे।

    कुन्ती शाही

    राप्रपाको महामन्त्रीमा निर्वाचित थापा निकटस्थ कुन्ती शाहीले थापाको पार्टी परित्यागको निर्णय पछि अब के गर्ने भन्नेमा अन्यौल रहेको बताइन्। तेस्रो आँखासँग कुराकानी गर्दै शाहीले आफूले अहिले त्यस्तै कुनै निर्णय गरिनसकेको बताइन्। ‘मैले अब के गर्ने ? कता रहने? भन्ने विषयमा कुनै निर्णय लिइसकेको छैन,’ उनले भनिन् ‘अहिले नै यसै गर्छु भनेर भन्न सक्ने अवस्था छैन।’ उनले केही दिनसम्म आफूले समिक्षा गर्ने र निर्णय लिने उनको भनाइ छ। ‘अब केही दिनसम्म आफूले के गर्ने भनेर समिक्षा गर्छु,’ उनले भनिन् ‘त्यसपछि के गर्ने भनेर निर्णय लिनेछु।’ तर थापाले आफूहरुलाई आफूसँग जानै पर्ने भनेर दबाब नदिएको उनले सुनाइन्।
    ‘तपाईंहरुलाई म सँगै हिड्नुस् भनेर मैले भनेको छैन,’ थापाको भनाइ उदृत गर्दै शाहीले भनिन् ‘तपाईहरुलाई जे ठिक लाग्छ, त्यही निर्णय गर्नुस्, म बाट कुनै दबाब रहन्न।’ यसैगरी शाहीले आफूले राप्रपाभित्रको अन्तरविरोध हटाउन निकै प्रयास गरेको भएपनि असफल भएको सुनाइन्। उनले भनिन् ‘म बीचमा रहेर पार्टी भित्रको विवाद समाधानका धेरै पटक प्रयास गरेँ, तर सफल हुन सकिएन, एकाएक यस्तो निर्णय आयो ।’

    नेतृ रेखा थापा

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं नायिका रेखा थापाले पार्टी परित्याग गरेर पूर्व अध्यक्ष कमल थापाले जनतालाई दिएको धोका प्रमाणित गरेको बताएकी छन्।

    तेस्रो आँखासँग संक्षिप्त कुरा गर्दै रेखा थापाले राजतन्त्रको खोलमा पटक–पटक गणतन्त्रको मन्त्री खाएर जनतालाई धोका दिएको कुरा अहिले आएर प्रमाणित गरेको बताएकी हुन्। पार्टीभित्रको हारलाई स्वीकार्न नसक्नु पार्टीप्रतिको धोका भएको भन्दै उनले कमल थापाले यस अघि पनि आफ्नो एजेण्डा छाडेर पटक–पटक जनतालाई धोका दिदै आएको आरोप लगाइन्।

    यति लामो समयसम्म पार्टीमा लगानी गरेका कमल थापाले पार्टी परित्याग गरेको घोषणाले आफूलाई अचम्म लागेको उनले बताइन्। यस्तो घटना आफूले नसोचेको उनको भनाइ छ। गत महाधिवेशनमा कार्यकर्ताले हराइसकेपछि राजालाई र जितेका पदाधिकारीहरुलाई गाली गर्दै हिडेका कमल थापाले जनतालाई पहिलादेखि नै धोका दिदै आएको उनको आरोप छ। उनको बहिरगमनपछि पनि राप्रपा देशको वैकल्पिक शक्तिका रुपमा उदय हुने नेतृ थापाले भनाइ छ।

    निर्णय सच्याउन पदाधिकारी बैठकको आग्रह

    राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषण गरेका पूर्व अध्यक्ष कमल थापालाई निर्णय सच्याउन राप्रपाले अनुरोध गरेको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

    लामो समय पार्टीको नेतृत्व गरेर बसेका व्यक्तिले गरेको पार्टी परित्याग गर्ने निर्णय राप्रपाका लागि दुखद भएकाले सच्याउन आग्रह गरिएको राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले बताए। उनले भने, ‘थापाको निर्णय व्यक्तिगत भएपनि पार्टीलाई क्षति पुग्ने हुँदा उक्त निर्णयलाई सच्याउन कमल थापालाई आग्रह गर्ने निर्णय गरेका छौं।’ कमल थापाको पार्टी वहिर्गमनसँगै नयाँ पार्टी निर्माणको चर्चाको बारेमा अहिले यसै भन्न नसकिने गुरुङको भनाइ छ। 

     

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • # पार्टी परित्याग

  • जीवन शर्मा
    लेखकबाट थप