काठमाडौं, २५ माघ। राप्रपाबाट पूर्व झापाका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा जित हात पार्दा पश्चिम नेपालका धवलशमशेर राणासँग पार्टीभित्र ‘फरक गठजोड’ बनिरहेको थियो। संसदका एकमात्रै पार्टी प्रतिनिधि बनेका लिङ्देनलाई पार्टी ‘नेतृत्व’ को मोहले जित्दै थियो। अनि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाले लिङ्देनलाई नेतृत्व परिवर्तनको ‘अपरिहार्यता’ सुनाइरहेका थिएनन् मात्रै त्यो कार्यदिशामा अघि बढ्न र पार्टीको नेतृत्व ‘हाँक्न’ जोडबल गरिरहेका थिए।
उता लामो समयदेखि राप्रपाको बिरासत हाँकेका कमल थापा नै ‘सिंगो’ राप्रपा भएको ‘भान’ पार्टीभित्र कायमै थियो। पार्टी भित्रको थापाको एकल बिरासत तोड्नु दोस्रो पुस्ताका लिङ्देन/राणालाई त्यती सहज थिएन पनि। तथापी राप्रपा भित्रको थापाको एकल बिरासत तोड्ने शाहसबाट उनीहरु विचलित भएनन्। अनी त्यो बेलाको राप्रपा राजसंस्था प्रति बिमुख बन्दै गएको र हिन्दु राष्ट्र कायम गर्ने अर्को मुख्य एजेण्डाबाट नेतृत्व चुक्दै गएको बहस राप्रपावृत्तमा सुरु भयो।
नेतृत्वको यही कमजोरीलाई आधार बनाएर ‘एजेण्डामा प्रतिवद्ध राप्रपा’ निर्माणको नयाँ एजेण्डा फ्याँकियो र एकल वर्चश्व कायम गरिरहेका कमल थापाविरुद्ध फरक चुनावी मोर्चा बन्यो, यो मोर्चाको नेतृत्व उनै लिङ्देनले लिए।
पार्टीभित्र लामो समय ‘रजगज’ चलाएका थापाले हारको परिकल्पनै गरेनन्। उनलाई बिश्वास थियो ‘लामो समय पार्टी नेतृत्व गरिरहेको प्रभावले मलाई किमार्थ हार्न दिनेछैन।’ तर नेतृत्व परिवर्तनको एजेण्डामा राप्रपा भित्रको ‘बहुमत’ एक बन्यो। पार्टीभित्रको थापाको एकल बिरासत तोडिदियो, लिङ्देनलाई राप्रपाको नेतृत्वमा उभ्याइदियो।
राप्रपाको नेतृत्वबाट बञ्चित हुनुपरेपछि थापा बिचलित भए। उनले पूर्व राज परिवारमाथि ‘सत्तो सराप’ गरेनन् मात्रै लिङ्देनलाई अध्यक्ष बनाउन पूर्व राजपरिवारले मोटो रकम खर्च गरेको आरोप समेत लगाए। राप्रपामा आफ्नो बिरासत तोडिएको ‘झोँक’ थापाले पार्टी नेतृत्व माथि पनि पोख्दै आए। फलतः नेतृत्व गुमेको यही पीडाबोधका कारण मंगलबार थापाले पार्टी परित्याग गर्ने निर्णय नै लिए। अनि राजसंस्था विरोधी भूमिकामा रहेर आगामी राजनीतिक यात्रा थालनीको उद्घोष पनि थापाले गरेका छन्। उनको यो उद्घोष जस्तै थापालाई राजसंस्था र हिन्दु राष्ट्र पक्षधर पार्टीको विरोधी नेताको आरोप राप्रपाभित्र लाग्दै आएको थियो। हुन पनि थापाले सबै खाले वैचारिक धारका पार्टीले नेतृत्व गरेका सरकारमा सहभागीता जनाउँदै आए। राजसंस्था अन्त्य भई बनेका गणतान्त्रिक सरकारमा समेत उनको सहभागीताले उनी राजावादी नेता भए/नभएको आशंका पार्टी भित्र गरिँदै आएको थियो ।
सरकारमा थापाको सहभागीता
तत्कालीन शेरबहादुर देउवाको पालामा थापा २०५२, २७ भदौ देखि ०५३ फागुन २९ गतेसम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री बनेदेखि उनको मन्त्री यात्रा प्रारम्भ भएको थियो। यसैगरी राप्रपाकै नेता लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा ०५३ चैत १२ देखि थापाले सरकारमा दोस्रो पटक ‘ईन्ट्री’ मारे। ०५४ असोज २१ सम्म थापा आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री बनेका थिए । यसैगरी राप्रपाकै नेता सुर्यबहादुर थापा नेतृत्वको सरकारमा थापा ०५४ मा फेरी मन्त्री बनेका थिए ।
२०५४ असोज २१ गते देखि २७ असोजसम्म उनी परराष्ट्र र कृषी मन्त्री बनेका थिए । पुनः गठन भएको सुर्यबहादुर थापाकै नेतृत्वमा उनी ०५४ मंसिर १८ देखि ०५५ वैशाख २ गते सम्म परराष्ट्र मन्त्री बनेका थापा पुनः सुर्यबहादुर थापाकै नेतृत्वमा बनेको सरकारमा २०६० जेठ २ गते देखि ०६२ जेठ २८ गते सम्म सूचना तथा स्थानीय विकास र स्वास्थ्यमन्त्री बनेका थिए। यसैगरी तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा रहेको सरकारमा थापा ०६२ मंसिर २२ गते देखि ०६३ माघ १९ गते सम्म गृहमन्त्री बनेका थिए।
त्यसपछि मुलुकमा राज संस्था अन्त्य भई स्थापना भएको गणतान्त्रिक व्यवस्थामा बनेको केपी ओली नेतृत्वको सरकारमासमेत राजावादी नेता थापा मन्त्री बनेका थिए। ओली नेतृत्वको सरकारमा ०७२ असोज २५ गतेदेखि ०७३ साउन २० गतेसम्म थापा उपप्रधान तथा परराष्ट्र र स्थानीय विकासमन्त्री बनेका थिए। यसैगरी राजसंस्था अन्त्य भइसकेको अवस्थामा ओली पछिको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि राजावादी नेता उनी फेरी मन्त्री बने। दाहाल नेतृत्वमा बनेको सरकारमा ०७३ फागुन ४ गतेदेखि ०७३ चैत २२ गतेसम्म उपप्रधान तथा स्थानीय विकासमन्त्री बनेका थिए। यसैगरि शेरबहादुर देउवा नेतृत्वको सरकारमा थापा ०७४ असोज ८ मा पुनः उपप्रधानमन्त्री बनेका थिए।
राजसंस्थाको पक्षधर पार्टीका अध्यक्ष थापा गणतन्त्रात्मक व्यवस्थामा बनेको सरकारमासमेत पटक—पटक मन्त्री बनेपछि उनको राजावादी सोँचमाथि आशंका गरियो। राप्रपाका नेताहरु भन्छन् ‘राजावादी पार्टीका अध्यक्ष राजा फालेका दलहरुको नेतृत्वमा बनेको सरकारमा सहभागी भएपछि त उहाँको राजसंस्थाप्रतिको मोह भंग भैसकेको थियो।’ यसैगरी हिन्दुवादी पार्टी राप्रपाका उनै अध्यक्ष थापाले नै धर्मनिरपेक्षताको विषयमा सहीछाप गरेको आरोप पनि लाग्दै आयो। उनको यो भूमिकालाई राप्रपाभित्रको एक ‘तप्का’ ले राप्रपा अनि जनतामाथिको ‘धोका’ का रुपमा अथ्र्याउँदै आएको थियो।
फलतः अहिले उनको पार्टी परित्याग घोषणालाई राप्रपाभित्रको यो तप्काले ‘जनतामाथि दिएको धोकाको प्रमाण’ भनेको छ। ‘भन्नेबेला राजावादी पार्टीको नेता भन्ने, अनि हिन्दुवादी नेता भन्ने तर गणतान्त्रीक सरकारमा समेत पटक पटक सहभागीता जनाईरहने, अनि हिन्दुवादी नेता भनेर धर्म निरिपेक्षतामा हस्ताक्षर गर्ने काम गरेर राप्रपा र जनतामाथि धोका दिइरहेकै थिए,’ एक नेताले भने ‘अहिले उनको पार्टी परित्यागको घोषणाले यो धोकालाई प्रमाणित गरिदिएको छ ।’
