घोराही उपमहानगर : गौतम मेयरका आकांक्षी

घोराही उपमहानगर : गौतम मेयरका आकांक्षी


  • 30.0K
    SHARES
    • माघ २६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 46.1K Views

    घोराही उपमहानगर : गौतम मेयरका आकांक्षी

    दाङ, २६ माघ । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै जिल्ला तहमा चुनावी चहलपहल सुरु भएको छ । स्थानीय तहका प्रमुख उपप्रमुखका आकांक्षीहरुले चुनावी तयारी थालिसकेका छन् । दाङको घोराही उपमहानगरपालिकाको मेयर को हुने ? भन्ने बहस जिल्ला तहमा सुरु भैसकेको छ । सँगै उम्मेदवारका आकांक्षीहरु थपिने क्रम पनि बढ्दै जान थालेको छ ।

    images

    नेपाली कांग्रेसबाट किशोरचन्द्र गौतम घोराही उपमहानगरको मेयरको आकांक्षीका रुपमा देखिएका छन्। उनले उम्मेदवार बन्नका लागि भित्री तयारी समेत थालिसकेका छन् । ‘घोराही उपमहानगरको प्रमुख बनेर स्थानीय तह सञ्चालनको अभिलाषा जगाएको छु,’ गौतमले भने ‘उम्मेदवार बन्नका लागि निकटस्थहरुसँग सरसल्लाह गरिरहेको छु ।’ आफू प्रमुखको आकांक्षी भएपनि उम्मेदवार बन्ने नबन्ने पार्टीको निर्णयमा भर पर्ने उनको भनाइ छ। ‘मैले आकांक्षा व्यक्त गरेको हो,’ उनले भने ‘तर मलाई उम्मेदवार बनाउने /नबनाउने भन्ने विषय पार्टीको निर्णयमा भर पर्छ ।’

    २०४४  देखि नेविसंघको राजनीतिबाट गौतमले कांग्रेस राजनीतिको औपचारिक यात्रा प्रारम्भ गरेका थिए । उनी २०४४ मा नेविसंघ बिजौरी स्कुल ईकाई समितिको सचिव बनेका थिए । त्यसपछि उनी नेविसंघको जिल्ला समितिमासमेत बसेका थिए । नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका गौतम कांग्रेस घोराही नगर समितिको सभापति समेत बनेका थिए । नगरसभापतिका रुपमा काम गर्दा गौतमले सर्वदलीय संयन्त्रमा कांग्रेसबाट प्रतिनिधित्व समेत गरेका थिए । सर्वदलीय संयन्त्रमा प्रमुख दलको प्रतिनिधिका रुपमा काम गर्दा स्थानीय निकायसँग नजिक बन्ने अवसर गौतमलाई मिलेको थियो । यसले उनलाई स्थानीय निकायका नीति निर्माण र कार्यान्वयन बुझ्ने अनुभव पनि उनीसँग छ । ‘त्यो बेला सर्वदलीय संयन्त्रमा प्रमुख दलको प्रतिनिधि बनेर काम गर्ने अवसर पनि मलाई भयो,’ गौतमले भने ‘त्यसले मलाई स्थानीय निकायका नीति निर्माण र कार्यान्वयन बुझ्ने अनुभव दिलायो, यसर्थ पनि म स्थानीय निकायका बारेमा केही जानकार छु नै ।’

    यसैगरी उनी तत्कालीन कांग्रेस क्षेत्र नम्बर ३ को सचिव पदमा प्रतिस्पर्धी बनेका थिए। वौद्धिक व्यक्तित्व गौतम नेपाली राजनीतिको कुशल विश्लेषकसमेत हुन् । पार्टीलाई ‘ब्याक’ सपोर्टमा रहेर सघाउँदै आएका गौतमले २०५४ मा स्थानीय निकायको चुनावमा प्रतिस्पर्धा गरेका थिए। उनी त्यो बेला वडा सदस्यको चुनाव लडेका थिए । ‘०५४ मा स्थानीय निकायको निर्वाचनमा लडेँ, ’ गौतम भन्छन् ‘स्थानीय तहमा प्रतिनिधित्व गर्ने त्यो बेला देखिको आकांक्षा मरेन,तर यो बीचमा त्यो सम्भव पनि भएन तर अहिले उपमहानगरको नेतृत्व गर्ने अभिलाषा फेरी जागेको छ।’ गौतमले संस्कृत बिषयमा स्नातकोत्तर अध्ययन पुरा गरेका छन् ।