काठमाडौं, २७ माघ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेपछि निर्वाचन आयोगले चुनावी तयारी तीव्र पारेको छ।
निर्वाचन आयोगले चुनावी कार्ययोजना बनाएर त्यसलाई अन्तिम रुप दिने तयारी भैरहेको जनाएको छ। निर्वाचन आयोगका सूचना अधिकारी शालिग्राम शर्मा पौडेलकाअनुसार निर्वाचन आयोगले कार्ययोजनालाई अन्तिम रुप दिन मात्र बाँकी छ।
‘कार्ययोजनालाई अन्तिम रुप दिएपछि जिल्ला निर्वाचन कार्यालयहरुलाई पनि कार्ययोजना अनुरुप काम गर्न लगाइने छ,’ पौडेलले भने ‘अबको केही दिनमा मतदाता नामावलीमा दोहोरो दर्ता भएको नाम हटाइने छ र मतपत्र छाप्ने काम अगाडि बढाइने छ।’
कार्ययोजनाले अन्तिम रुप पाएपछि दलदर्ताको कार्य पनि अगाडि बढाइने उनको भनाइ छ। त्यसपछि निर्वाचन आयोगले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई चुनावका लागि आवश्यक पर्ने भौतिक सामग्रीहरु उपलब्ध गराउन आग्रह गर्नेछ।
आयोगले यो स्थानीय तहको निर्वाचनका लागि झण्डै १२ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ। एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न केही व्यवस्थापकीय कठिनाई भए पनि आयोग एकै चरणमा उक्त समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको अधिकारी शर्माले बताए।
पौडेलकाअनुसार एकै चरणमा र दुई चरणमा निर्वाचन गर्दा दुई पटक नै बराबरी खर्च लाग्ने गर्छ। तर दुई वा सो भन्दा बढी चरणमा निर्वाचन गराउदा व्यवस्थापकीय कठिनाई कम हुन्छ र पर्याप्त समय हुन्छ यो कठिनाईकाबीचमा पनि आयोगले निर्वाचन सम्पन्न गर्ने उनको भनाइ छ।
पदम भुजेल
