दाङ, ०२ असार । तापक्रम अत्यधिक बढेर बन्द गरिएका दाङका विद्यालयहरू आज पनि नखुल्ने भएका छन् । जिल्लाका १० मध्ये आठ पालिकाले दुई दिन पहिले गर्मीका कारण दुई दिन विद्यालय बन्द गरेका थिए ।
यसबीच पानी नपरेपछि तुलसीपुर उपमहानगरपालिकासहित अधिकांश पालिकाले आजपनि विद्यालयमा बिदा दिएका छन् । सोमबार सार्वजनिक बिदा रहेको हुँदा त्यो दिनसम्म पनि पानी नपरे बिदा थप लम्बिन सक्ने सरोकारवालाहरु बताउँछन् ।
जिल्लाको अधिकतम तापक्रम औषतमा ३९ डिग्री सेलसियस पुगेको छ। जेठ १५ यता दुई पटक दाङको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेलसियससम्म पुगेको छ । जो १२ वर्ष यताकै बढी तापक्रम हो ।
लामो समयदेखि पानी नपर्दा गर्मी निकै बढेको छ भने दिउँसोमा तातो हावा चल्ने गरेको छ। अत्यावश्यक काम परेका बाहेक दिउँसोमा मानिसहरु घर बाहिर निस्कन छोडेका छन् ।
लामो समयदेखि पानी नपर्दा मकैका बोटहरु सुक्न थालेका छन् भने धानको ब्याड राखेका खेतहरु पटपटी फुट्न थालेपछि किसान चिन्तित छन् ।
