दाङ, २८ असार । पाण्डवेश्वर महादेव धाम धारापानीमा यही श्रावण १ गतेदेखि श्रावण ३२ गतेसम्म श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवं शृङ्गारिक महाआरती संचालन हुने भएको छ ।
पाण्डवेश्वर महादेव धामको धार्मिक तथा पर्यापर्यटकीय प्रवर्द्धन एवं सनातन धार्मिक जागरणका लागि मन्दिरले एक महिने महायज्ञ तथा शृङ्गारिक महाआरती संचालन गर्न लागेको हो । शुक्रवार मन्दिर व्यवस्थापन समिति तथा महायज्ञ मुल आयोजक समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि एक महिने धार्मिक महायज्ञ तथा शृङ्गारिक महाआरतीको तयारी बारेमा सार्वजानिक गरेको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीको अध्यक्षता सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले महायज्ञ तथा महाआरतीका भव्यताकासाथ सफल बनाउन विभिन्न उप–समिति गठन समेत गरेको जानकारी दिनुभयो । साथै उक्त महायज्ञ तथा महाआरतीमा सहभागी सम्पूर्ण दाङवासी एवं भक्तजनहरुमा समेत अपिल गर्नुभएको छ ।
श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम समेत संचालन गरिने जानकारी दिनुभयो । जसमा आरती संकल्प, ब्राह्मण भोजन संकलन, प्रसादी वितरण संकलन, रुद्राभिषेक संकलन र श्रावण ३१ गते सामूहिक लक्ष्यवर्तिका दिप प्रज्वलन कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । श्रावण २ गतेदेखि श्रावण ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६ बजेसम्म, रुद्राभिषेक नृत्य पुजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायाण, बिहान साढे ११ बजेदेखि दिउसो साढे ३ बजेसम्म कथा प्रवचन तथा श्रवण र साढे ३ बजेदेखि कथा समापन तथा आरती संचालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा टेन्ट लाईन तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमितिका संयोजक विवेक श्रेष्ठले वर्षातको समयमा भक्तजनहरुलाई वर्षातवाट जोगाउन जस्तापाता र प्लाष्टिक सहितको टेन्ट महायज्ञ संचालन परिसरमा व्यवस्थापन गरिने जानकारी दिनुभयो । साथै मन्दिर परिसरभित्र महायज्ञ अवधीभर भक्तजनहरुको किनमेलका लागि २५ वटा स्थानीय उत्पादनका विभिन्न स्टल तथा वाल उद्यान समेत संचालन गरिने जानकारी दिनुभयो ।
त्यस्तै मन्दिर व्यवस्थापन समितिका सल्लाहकार तथा महायज्ञ अनुगमन उपसमितिका संयोजक श्रीधर शर्मा पौडेलले धार्मिक जागरण तथा प्रचारप्रसारका लागि सहभागी हुन सबैमा अनुरोध गर्नुभएको छ । पत्रकार सम्मेलनमा महायज्ञ संचालन आर्थिक उपसमितिका संयोजक रेवबहादुर बुढाथोकीले महायज्ञ तथा महाआरती संचालन र सफलताका लागि तन, मन र धन सहयोग गर्न दाङवासीमा अपिल गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा श्री शिवमहापुराण सत्संग ज्ञान महायज्ञ एवं शृङ्गारिक महाआरतीमा राष्ट्रिय ख्याती प्राप्त विद्धान पण्डित कोमल उपाध्याय प्रमुख कथा वाचक भावमय कथा बाचन गर्नुहुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।
महायज्ञका लागि महायज्ञ मुल आयोजक समितिले विभिन्न उप समितिले गठन गरेको छ । जसअनुसार शारदा पोख्रेलको संयोजकत्वमा यज्ञ पुजा व्यवस्थापन उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा टेन्ट लाईनिङ तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, निमबहादुर चौधरीको संयोजकत्वमा भोजना तथा आवास व्यवस्थापन उपसमिति, शंकर गौतमलको संयोजकत्वमा दाता पहिचान तथा स्वागत उपसमिति, विष्णुराम आचार्यको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, केशव बहादुर बिसीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, रेवबहादुर बुढाथोकीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, बोधिलाल शर्माको संयोजकत्वमा सामान खरिद उपसमिति, लोकबहादुर बिकको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, गणेश कुमार अधिकारीको संयोजकत्वमा यज्ञ संचालन उपसमिति, श्रीधर शर्मा पौडेलको संयोजकत्वमा अनुगमन उपसमिति र हरिप्रसाद चौधरीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
