काठमाडाैं,३ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग सम्झौता– एमसीसी कम्प्याक्ट, टेबुल गर्न आफ्नो कुनै रोकावट नहुने बताएसँगै सम्झौताका सम्बन्धमा संसद्मा छलफल गर्ने बाटो खुल्ने भएको छ । सोमबारको सर्वदलीय बैठकपछि सभामुख सापकोटाले आफू अम्पाएर (रेफ्रि)मात्र भएको र दलहरु नै यसमा निर्णायक भएको बताएपछि कांग्रेसले एमसीसी टेलुल गर्ने र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाउने अवस्था आएकाे हाे ।
एमसीसी सम्झौता बुधबारको संसद बैठकमा पनि टेबुल हुनसक्ने बताइएकाे छ । सत्तारुढ गठबन्धनमै एमसीसी सम्झौताका विषयमा एउटै दृष्टिकोण नभएपनि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अनुमोदन गर्न सघाउने संकेत गरेका छन् ।
श्राेतका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा सम्झौता टेबुल हुँदा के गर्ने भन्नेबारे केही विकल्पमा छलफल भएको थियो । पहिले उनीहरूले उक्त दिन संसद बहिष्कार गर्ने भनेपनि पछिल्लो छलफलमा भने सांसदहरूलाई ह्वीप नलगाउने र बहिष्कार गर्न आह्वान पनि नगर्ने भएका छन् । सुरुमा बहिष्कार गर्ने भनेपनि प्रमुख प्रतिपक्षी एमाले भने अझै पर्ख र हेरको अवस्थामा रहेकाले संसदमा गणपुरक संख्या पुर्याउनका लागि सत्तारुढ माओवादी र समाजवादीले ह्वीप नलगाउने भएका हुन् ।
ती दलका शीर्ष नेताले भने बहिष्कार गर्ने वा संसदमा त्यसको विरोधमा नाराबाजी गर्ने विकल्प रोज्न सक्ने बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेसनका अध्यक्षलाई संयुक्त पत्र लेखेर फागुन १६ भित्र सम्झौतालाई अनुमोदन गराउने बताएका थिए ।
