काठमाडौं, ३ फागुन। लामो समयदेखि नेपाल बार एशोसिएसनले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको राजिनामाको माग राख्दै आएको आन्दोलनको स्वरुप परिवर्तन गरेको छ।
बारले आन्दोलन गरेको एक सय आठ दिनमा संसदमा जबरा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि बारले आन्दोलनको स्वरुप परिवर्तन गरेको हो। बारले यस अघि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिँदै प्रधानन्यायाधिशको राजिनामा माग गर्दै आएको थियो। आजबाट बारले बारको प्रांगणबाट मात्रै राजिनामा माग गर्ने बताएको हो।
गत आइतबार मात्र कांग्रेस, माओवादी र एकिकृत समाजवादी पार्टीका ९८ सांसदको हस्ताक्षरसहित संसदमा जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको थियो। आफूहरुको आन्दोलनले गर्दा नै जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएको अधिवक्ताहरुले बताएका छन्।
त्यस्तै बारले प्रतिरोधको रुपमा अरु बाँकी चार न्यायाधिशहरुविरुद्धमा महाअभियोग दर्ता हुने चर्चाप्रति बार चिन्तित रहेको जनाएको छ। न्यायालयलाई कसैले पनि प्रतिरोध ढंगबाट नहेर्न पनि बारले आग्रह गरेको छ। अझै पनि सर्वोच्चमा आफूहरुको पुर्ण रुपमा माग पुरा नभएकोले आफुहरुले यो आन्दोलन जारी राखेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।
