काठमाडाैं,४ फागुन । सत्ता साझेदार दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच सहमति नहुँदा एमसीसीे सम्झौता पेचिलो बन्दै गएको छ । तीन दिनअघि सहमति भएको भनिए पनि मंगलबार साँझसम्म आइपुग्दा गठबन्धनभित्र सहमति हुन नसक्दा एमसीसी संझौता पेचिलो बन्दै गएको हो ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्झौता टेबल गर्ने कांग्रेसले निर्णय गरेपनि गठबन्धन भित्रका माओवादी र नेकपा समाजवादी सहमत छैनन् । नेकपा माओवादी केन्द्रको विस्तारित बैठकले एमसीसी टेबल भएर विपषमा मतदान गरेर सरकारबाटै बाहिरिने निर्णय गरेको छ । यो सँगै आज एमसीसी टेबल हुने सम्भावना कम रहेको छ । एमसीसी टेबल नहुने सम्भावना बढेपछि अहिले तीन दलका प्रमुख नेताहरूबीच छलफल भैरहेको नेताहरुले बताएका छन् ।
यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए । उनले भने, ‘कार्यालयको विस्तारित बैठकले गठबन्धनमा सहमति नजुटाई ‘बलजफ्ती’ एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।’ त्यस्तै गठबन्धनको अर्को साझेदार एकीकृत समाजवादीले पनि यथास्थितिमा एमसीसी अनुमोदन नगर्ने अडान राख्दै आएको छ । सहज विकल्प के हुन सक्छ भनेर पनि छलफल भएको नेता मेटमणी चौधरीले बताए ।
अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि दबाबमा परेका प्रधानमन्त्री बुधबार नै टेबल गर्न प्रतिबद्ध थिए । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार कार्यसम्पादन समितिको बैठकमा एमसीसी टेबल गर्न सर्वसहमतिबाट निर्णय गराएका थिए ।
अग्निप्रसाद सापकोटाले बुधबार संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार रातिसम्मको अडानअनुसार प्रमुख प्रतिपक्षी एमालेले एमसीसीबारे विषय प्रवेश नै नगरी संसद्मा पूर्ववत् नाराबाजी गर्ने भएको छ । त्यस्तै कांग्रेसको तयारीअनुसार कानुनमन्त्री दिलेन्द्र बडू र कांग्रेस सचेतक पुष्पा भुसालले सम्झौता टेबल गर्न प्रस्ताव राख्नेछन । माओवादी र एकीकृत समाजवादीको तयारीअनुसार सचेतकहरू क्रमशः देव गुरुङ र जीवनराम श्रेष्ठले भने अहसमति जनाउने तयारीमा रहेको बुझिएको छ ।
एमसीसी सम्झौताका विषयमा सरकारसँग केही छलफल नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । आजको बैठकमा पनि एमालेले संसद अवरुद्ध गर्ने उनको भनाइ छ । संसद् बैठकअघि पकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत एमाले सहभागि नहुने बताएको छ ।
