काठमाडौं, ४ फागुन। बलात्कार मुद्दा लागेका एमाल सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले बानियाँ बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी श्यामकृष्ण अधिकारीले गत सोमबार नै पक्राउ पुर्जी जारी भएको र सांसद बानियाँलाई पक्राउ गर्नका लागि आवश्यक प्रक्रिया थालिएको जानकारी दिए।
‘उहाँ (बानियाँ) विरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ,’ एसपी अधिकारीले भने ‘कारवाहीका लागि आवश्यक प्रकृया थालनी भैसकेको छ।’ प्रतिनिधिसभा सदस्य बानियाँ अहिले काठमाडौँमा छन्। एसपी अधिकारीका अनुसार बानियाँलाई पक्राउ गर्नका लागि प्रहरी ‘हेडक्वार्टर’ मा पत्राचार गरिसकेको छ।
‘उहाँ काठमाडौं हुनुहुन्छ, यसर्थ हामीहरुले उहाँलाई पक्राउ गर्नका लागि प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गर्याैं,र प्रदेशले हेडक्वार्टरमा पत्राचार गरिसकेको छ,’ एसपी अधिकारीले भने ‘हेडक्वार्टरले काठमाडौंका तीन जील्लाहरुलाई पक्राउ गर्नका लागि पत्र काट्छ।’
सांसद बानियाँ अहिले प्रहरीको सम्पर्कमा छैनन्। तर उनी आफै प्रहरीमा हाजिर हुने तयारी गरिरहेको बुझिएको छ। एसपी अधिकारीले भने ‘दुई/तीन दिनमा संसद बैठक सकेर प्रहरीमा हाजिर हुने भनेर उहाँले भन्नु भएको भन्ने सुनिएको छ, तर मसँग अहिले उहाँको कुराकानी भएको छैन।’
गत माघ १९ गते जुम्लाकी एक महिलाले बाँकेको अप्सरा होटेलमा आफूलाई सांसद बानियाँले बलात्कार गरेको भन्दै बाँके प्रहरीमा उजुरी दिएकी थिइन् ।
