रोल्पा, २८ साउन । रोल्पामा अटो दुर्घटना भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–५ चबिस्थित जुगारदेखि लिङ्डुङतर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो अनियन्त्रित भइ पल्टिएको प्रहरीले जानकारी दिएको छ ।
अटो पल्टिदा अटोमा सवारी ५ जना घाइते भएको जिल्ला प्रह्री कार्यालय रोल्पाको सूचना अधिकारी, प्रहरी निरीक्षक केशवराज बोराकोटीले जानकारी दिनु भएको छ । उहाँकाअनुसार घाइतेहरुको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नेर्पा जुगारमा लगिएकोमा ३ जनालाई थप उपचारको लागि दाङ रिफर गरिएको बताइएको छ । प्रहरीकाअनुसार अटो सोमबार दिउँसो साढे ३ बजेको समयमा दुर्घटना भएको थियो ।
अटो दुर्घटनामा परी त्रिवेणी गाउँपालिका ३ टाकुरा बस्ने बर्ष ५१ का अटो चालक निम बहादुर विकको दाहिने हातमा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनाका घाइते त्रिवेणी गाउँपालिकाको गोलकट्टी वस्ने टोप बहादुर वलीको छोरी वर्ष १३ की रमिता वलीको दाहिने हातमा चोट लागेको साथै उहाँको अवस्था सामान्य रहेको बताइएको छ ।
गाउँपालिकाको लिङ्डुङ बस्ने वर्ष ३९ कि शान्ता घर्तीको बायाँ खुट्टामा चोट लागेको, सोही ठेगाना बस्ने शान्ता घर्तीको छोरी वर्ष १६ की झरना घर्तीको दाहिने हातमा चोट लागेको र नेर्पा वस्ने वर्ष ४० की हिमा कुमारी बिकको बायाँ खुट्टामा चोट लागेको उहाँहरुलाई थप उपचारको लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
भरत विश्वकर्मा
