विराटनगर,७ फागुन । प्रेमीको सहयोगमा आफ्नै श्रीमानको हत्या गर्ने विराटनगरकी मीना श्रेष्ठ र उनका प्रेमी ब्रह्मदेव साहलाई मोरङग जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । विराटनगरको मधुमारामा औषधी ब्यवसाय गर्दै आएका देवीप्रसाद दुलाललको हत्या गर्ने उनकै श्रीमति ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र निजका प्रेमी सिरहा लाहानका २१ वर्षीय ब्रह्मदेव साहलाई जन्मकैदको सजाय सुनाएको हो ।
गत जेठ ४ मा मीनाले प्रेमी ब्रह्मदेव साहको सहयोगमा आफ्नै श्रीमान देवीप्रसाद दुलालको हत्या गरेकी थिइन् । उक्त कर्तव्य ज्यान मुद्धाको छिनोफानो गर्दै उनीहरुलाई जन्मकैदको सजाए सुनाएको मोरङग अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । दुवै जनाले २५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने बुढाथोकीले बताए ।
अदालतको आदेशअनुसार दुवै अभियुक्तलाई विराटनगर कारागार चलान गरिएको छ । सो घटनामा मतियारका रुपमा मुद्धा चलाइएका सुनसरीका २० वर्षीय सोनुकुमार साहको सजाय भने निर्धारण हुन बाँकी रहेको उनले जानकारी दिए । सोनुकुमार साहको सजायबारे केही समय पछि सुनुवाई हुने अदालतले जनाएको छ ।
मधुमारामा घर भाडामा लिएर उनले देवी माँ पाथिभरा फर्मा चलाउँदै आएका थिए । देवीप्रसाद र मीनाबीच ११ वर्ष अघि प्रेम विवाह भएको थियो । ब्रह्मदेवलाई देवीप्रसादले फर्मामा काम गर्न ४ वर्षदेखि राखेका थिए । कामदारका रुपमा राखेका ब्रह्मदेवसंगै श्रीमतिको सम्बन्ध बढ्दै गएको चालपाएपछि देवीले ब्रह्मदेवलाई कामबाट निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार हत्या हुनुपूर्व करिब १ वर्ष अघिबाट दुवै जना प्रेममा रहेको प्रहरीको भनाई छ ।
यस क्रममा श्रीमान देवी उनीहरुको लागि तगारो बनेपछि दुवैजनाले हत्याको षडयन्त्र गरेका थिए । दुवैजनाको योजना अनुसार घटना भएको रात घरमा केही सीमित औषधी ब्यवसायीसंग खानाको कार्यक्रम राखिएको प्रहरीले जनाएको छ । खानपिनको कार्यक्रम सकिएपछि मीनाले ब्रह्मदेव र सोनुकुमारको सहयोगमा देवीलाई सुतेको अवस्थामा प्लाष्टिकको डोरीले घाँटीमा कसेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरीले दुवै जनालाई पक्राउ गरि कर्तव्य ज्यान सम्बन्धी मुद्धा चलाएको थियो ।
धिरज दाहाल
