• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न ( रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दुर्गा बहादुर बिष्ट)

वडाध्यक्षसँग पाँच प्रश्न ( रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दुर्गा बहादुर बिष्ट)


  • 11.7K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 17.9K Views

    वडाध्यक्षसँग पाँच प्रश्न ( रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दुर्गा बहादुर बिष्ट)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दुर्गा बहादुर बिष्टसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष बिष्टसँग तेस्रो आँखाकर्मी भरत विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंंश ।

    images

    १-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    जनतालाई चुनावको समयमा गरेका बाचाहरुमा हामीले जनतालाई भनेका थियौं, तपाईले चुनावमा जिताउनुस जिताइसके पछि हामी सुशासनको क्षेत्रमा असाध्यै राम्रो काम गर्ने छौँ । सुशासन भनेको प्रत्यक्ष जननिर्वाचित सरकारसँग नहिच्किचाई आफूलाई आवश्यकता अनुसारको काम र आवश्यकताको बारेमा कुरा राख्नु हो । हामी जनतालाई आफ्नो अधिकार सुनिश्चित गर्नकालागि गरेको बाचामा अगाडी लागिरहेका छौँ । र सकेसम्म निर्वाचन बेलाका ति घोषणा पत्रमा उल्लेख गरेका कुराहरु क्रमबद्ध रुपमा क्रमस पुरा गर्ने प्रयत्न गरिरहेको छु । 

    २-वडाका हरेक गतिविधि सञ्चालन गर्दा वडाबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराईदैन भन्ने छ, हजुरको वडामा यस्तो छ कि नाई ?

    मेरो वडामा जनप्रतिनिधि मात्र होइन कार्यालयका कर्मचारीहरु लगायतका सबैसँग छलफल गरेर के के काम गर्न मिल्छ र के काम गर्दा जनताको हितमा हुन्छ, जनताको पक्षमा हुन्छ र नितान्त जनताको आवश्यकता र चाहना पुरा गर्न सकिन्छ भन्ने कुरा वडा समितिमा छलफल हुन्छ र त्यसलाई अगाडी बढाइन्छ । त्यस्तो छैन् हाम्रो वडामा, वडा समितिकै निर्णय अनुसार काम कारबाही अगाडी बढाइन्छ । 

    ३-शिक्षाको क्षेत्रमा हजुरको योजनाहरु के के छन् ?

    शिक्षाको सन्दर्भमा निरन्तरलागि रहेका छौँ । शिक्षा आजको भोलि नै त्यति फरक पर्ने र आजको भोलि नै नतिजा आउने विषय होइन् । जब हामी जनप्रतिनिधिको रुपमा स्थानीय सरकारमा आइसकेपछि निरन्तर शिक्षाकोलागि अन्तरक्रिया, छलफल, अभिभावक भेला, विद्यालय व्यवस्थापन समितिको वैठक, अभिभावक र शिक्षकको छलफल, अन्तरक्रिया गराइराखेको छु । र निरन्तर शिक्षाको विषयमा असाध्यै जोड गरिरहेका छौँ । शिक्षामा क्रमस रुपमा सुधार भैरहेको छ । र शिक्षामा परिवर्तन आउछ भन्नेमा म विश्वस्त छु र आउछ पनि । शिक्षामा विगतको भन्दा राम्रो छ। 

    ४-स्वरोजगार मुलक कार्यक्रमहरू वडामा कत्तिको हुने गरेको छ ?

    म वडाध्यक्ष भैसकेपछि २० जना महिलाहरुलाई सिलाई कटाई तालिम गराएको थिए र सीप सिकेपछि ति महिलाहरुलाई मेसिनहरुपनि उपलब्ध गराउने वातावरण मिलाएका थियौँ । सिलाई कटाई तालिम प्राप्त गरेका मध्ये ५ जनाले सुलिचौर बजारमै आएर व्यवसाय सञ्चालन गरेर बसेको देखेको छु । मैले उहाँहरुलाई भेट्न पनि गएको थिएँ । भेटेर बधाइ पनि दिएको थिएँ । कतिपय सीप सिकेका व्यक्तिहरु गाउँमै पनि व्यवसाय गरेर बसिरहेका छन् । सीप सिकेका २र४ जना बाहेक अधिकांशले व्यापार व्यावसाय सञ्चालन गरेर बसेका छन् । त्यस पश्चात महिला या पुरुष इच्छुक जो कोहि पनि सीप सिकेर व्यवसायिक बन्नकालागि भनेर ड्राइभिङ सेन्टर कार्यक्रम सञ्चालन गरेका थियौं । आवश्यकता अनुसार महिला या पुरुष जो कोहिले पनि सिक्ने वातावरण मिलाएका थियौँ ।

    ५-वडाको समृद्धिका लागि हजुरको भावि योजना के छ ?

    वडाको समृद्धिकालागि भावि योजनाका रुपमा सुनिलस्मृति ३ लाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी असाध्यै प्राथमिकता दिनुपर्दछ । शिक्षामा आमुल परिवर्तन आउनु पर्दछ । स्वास्थ्य र खानेपानी पनि त्यस्तै हुनुपर्छ । क्रमशः सबै क्षेत्रमा विकास गर्नुपर्छ । साथसाथै हामीले कृषिलाई विशेष जोड दिनुपर्छ । कृषि क्रान्तिमा हामी निरन्तर लाग्यौँ भने मझौला खालको भए पनि कृषि उद्योग सञ्चालन गर्न सक्यौ भने कृषिमा विकास हुन सक्छ भन्नेमा म विश्वस्त छु । मिझिङको अधिकांश भुभागमा बढी सम्भावना बोकेको भनेको तरकारी र फलफूलको रहेको छ ।कृषिमा राम्रो छ । सिंचाईको प्रयाप्त मात्रामा पहुँच रहेको छ । जस्तै फर्साचौर, तल्लो खारा, उपल्लो खारा, डाइबाङ भोवाङदेखि लिएर यो क्षेत्रलाई एउटा कृषि जोन बनाउने र साझा रुपमा सरकारले त्यसमा लगानी गर्ने र कृषकको अपनत्व हुने गरी आफूले मूनाफा लिने गरि हामीले त्यस्तो प्रकारको कृषिमा क्रान्ति गऱ्यौं भने हामीले तरकारी बाहिरबाट खरिद गर्नुपर्दैन । हामीसँग त्यसको लागि प्रयाप्त भुगोल छ ।

    सिंचाईको सुविधा रहेको छ । उत्पादनको बजारिकरणकालागि हामिले सिङ्गो गाउँपालिकामा पनि यो कुरा राखिरहेका छौँ । सुनिलस्मृति, लुङ्ग्री र सुनछहरी गरी तिन गाउँपालिकाको मातहतमा रहने गरि एउटा चिस्यान केन्द्र पनि बनाउने र उत्पादन भएका ति वस्तुहरुलाई सरकारकै स्वामित्वमा लिने र विक्रि वितरण गर्ने, त्यो कुरा सरकारले सोच बनाइरहेको छ । र उत्पादनमा वृद्धि भएमा त्यो सम्भावना रहेको छ । बजारिकरणकालागि त्यति गाह्रो छैन् । वडाको समृद्धि गर्न खासमा हामीले वडाकै विकासकालागि एउटा मोडेलको रुपमा वडा बनाउन प्रयत्न गरिरहेका छौं । सुनिलस्मृति ३ का सम्पूर्ण क्षेत्रमा,  सम्पूर्ण बस्तीहरुमा बाटो असाध्यै राम्रो हुनुपर्छ । सकेसम्म पक्की हुनुपर्छ । बाटो पछि खानेपानी, विद्युत र सँगसँगै शिक्षा र स्वास्थ्यलाई पनि असाध्यै जोड दिने गरेका छौँ । खासमा यि कुराहरुलाई ध्यान दिइरहेका छौ । बाटो, खानेपानी, शिक्षा र स्वास्थ्य राम्रो भयो भने नै मान्छेको जीवनस्तर माथि जान्छ र राम्रो हुन्छ भन्ने हिसाबले लागिरहेका छौं ।


    तेस्रो आँखा