विराटनगर, ८ फागुन। विराटनगर मोरङको केरावारी गाउँपालिका-८ को हजार विघा सामुदायिक वनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको खुलेको छ।
उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका९३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे सँगै सो कुरा खुलेको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो ।
शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा भट्टराई पुस २७ गतेदेखी नै वेपत्ता भएको र पुस २८ गते लिम्बुसँग वादविवाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको थियो।
यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खुल्न आएसँगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
