काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद संजय गौतमले सरकारमा बसेर सरकारले सदनमा पेश गरेको एमसीसीको विरोध गर्ने गठबन्धनका दलहरुलाई सरकारमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । सरकारमा बसेर मन्त्रीको सुविधा लिने र कार्यकर्तालाई सडकमा उतारेर मत विभाजन गर्न लगाउने दलहरुले राष्ट्रघाती काम गरेको उनले बताएका हुन् ।
माधव नेपाल प्रधानमन्त्री हुदा सुरु गरेको एमसीसी झलनाथ खनाल देखि पछिका ७ जना प्रधानमन्त्री र सबै प्रशासनिक निकायहरु संलग्न भएको भन्दै यो परियोजना राष्ट्रहितमा रहेको गौतमले बताए । एमसीसी परियोजना राष्ट्रघाती थियो भने उनीहरुले किन अघि बढाए ? भन्दै गौतमले कम्यूनिष्टका नेताहरुलाई प्रश्न गरेका छन् ।अमेरिकाले दिएको अनुदानले नेपाललाई भलो गर्ने उनले बताए । गौतमले भने, ‘एमसीसीले नेपाल र नेपालीको भलो हुन्छ, त्यसैले कांग्रेसले अघि बढाउने निर्णय गरेको हो, हामी सदनबाट यो योजना पास हुनु पर्छ भन्नेमा छौं ।’
कम्यूनिष्टहरुका कारण एमसीसी धेरै गिजोलिएको उनले बताए। गौतमले थपे, ‘यसका अअन्तरवस्तुलाई गिजोलेर सामरिक महत्वको विषयलाई नेपाका कम्यूनिष्टहरुले दैद्य चरित्र देखाए,उनीहरुलाई सरकारमा बस्ने नैतिक अधिकार छैन।’
सरकारमा बसेर मन्त्रीको सुविधा लिने र कार्यकर्तालाई सडकमा उतारेर मत विभाजन गर्न लगाउने दलहरुले राष्ट्रघाती काम गरेको टिप्पणी गरे। उनले भने,‘कांग्रेसले जे गर्ने हो, त्यही भनेर गर्छ, कम्युनिष्ट जस्तो लुकेर दैद्य चरित्र देखाउँदैन।’ एमसीसी पास गर्ने कांग्रेसको एजेण्डा लागेको हो जुन जनहितमा छ ।’ प्रत्यक बैठकमा फरक फरक कुरा गर्दै हिड्ने र मुलुक र जनताको समृद्दिमा आएको योजनालाई जनतामाझ भ्रम फैलाउने काम कम्युनिष्टका नेताहरुले गरेको उनले आरोप लगाए।
नेपालका कम्यूनिष्ट पार्टीहरु गैह्रजिम्मेवार बनेको पनि गौतमले आरोप लगाए। उनले भने, ‘गठबन्धनमा बसेर सरकारले ल्याएको परियोजना विरुद्ध लाग्ने गठबन्धनका नेताहरुलाई सरकारमा बस्ने नैतिक अधिकार छैन।’ नेपाली कांग्रेस आफ्नो दायित्व पुरा गर्ने अभियानमा अघि बढेको गौतमले बताए। एमसीसीको विषयमा नागरिकमाझ नकारात्मक प्रभाव परेको तर यो मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक भएकाले जनताले विस्तारै बुझ्दै जाने भएकाले सदनबाट एमसीसी पारित गर्न कांग्रेस लागिपरेको गौतमको भनाइ छ।
