थारु समुदायमा ‘अष्टिम्की’ पर्व

थारु समुदायमा ‘अष्टिम्की’ पर्व


  • 7.7K
    SHARES
    • भाद्र १०, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 11.9K Views

    थारु समुदायमा ‘अष्टिम्की’ पर्व

    तुलसीपुर १० भदौ । आज श्री कृष्ण जन्माष्टमी अर्थात भगवान श्री कृष्ण जन्मनु भएको दिन । आज देशभरका हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वमा भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन । हिन्दु धर्म मान्ने सबै समुदायले भगवान श्रीकृष्णको पुजा–आरधना गरेर भव्यताका साथ यो पर्व मनाउँछन । 

    images

    अझबढी पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिला र किशोरीहरुले विशेष महत्वकासाथ यो पर्व मनाउँने गरेका छन् । अष्टमीलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । कृष्णलाई ‘कन्ह्वा’ भनिन्छ । आजको दिनमा विवाह गरेर पराईघरमा गएका तथा कामको शिलशिलामा घरभन्दा बाहिर बस्ने छोरी–चेलीहरु अष्टमीको अघिल्लो दिन माइती घरमा आउँछन । अष्टमीको अघिल्लो दिनभरी उनीहरु दर खानकोलागि खोला, तलाउमा गएर माछा, गँगटा, घाेंघीहरु मार्ने गर्दछन । छोरीचेलीहरुले नभ्याएको बेला उनका दाजुभाई तथा बुवा, काकाहरुले दर खानकोलागि माछा, घोंघी, गंगटा खोजिदिने चलन छ । बेलुकी सबै परिवारले खाना खाइसकेपछि भान्सालाई हरियो गोबरले पोतेर चोखो बनाइन्छ र दर खानकोलागि दिउँसोमा मारिएका घोंघी, माछा र गंगटा पखालेर राखिन्छ । राती १२ बजेपछि घरमा भएका छोरी–चेलीहरु उठेर कुवा र धाराबाट चोखो पानी ल्याउँछन र सबैजना मिलेर दर पकाउछन । अघिल्लो दिनमा मारेको घोंघी, माछा, गंगटा प्रायः सबैको घरमा पाकेको हुन्छ । यि परिकारहरु भातसंगै बिहान भाले नबास्दै दरका रुपमा खानु पर्दछ भन्ने मान्यता छ । सबैजना रमाईलो गर्दै दर खाएपछि बचेको दर बिहान उठेर घरका अन्य सदस्यहरुले पनि खान्छन । दर खाएका महिलाहरु दिनभरी निराहार व्रत बस्दछन । विवाहित महिलाहरु पतिको लामो आयुकोलागि व्रत बस्दछन् । किशोरीहरु सुयोग्य बर पाउँनकोलागि व्रत बस्ने गर्दछन् ।

    आजको दिन व्रत बस्ने महिलाहरु बिहानैदेखि भगवान श्रीकृष्णको पुजा–अर्चना गर्नकोलागि आवश्यक तयारी गर्दछन् । उनीहरु बिहानै घर र आगनमा लिपपोत गरेर चिटिक्क पार्दछन् । त्यसपछि उनीहरु नुहाउँने, लुगाधुने गर्दछन र केही किनमेल पनि गर्ने गर्दछन् । बेलुका उनीहरु पुजा गरेर खानकोलागि खिर, साफुदाना, हलवाई, पुरी, दहिहरु तयार गरेर राख्दछन । बेलुका हुन थालेपछि कृष्ण भगवानको पुजा गर्नेबेला चाहिने घुन्यासरको फुल टिपेर ल्याउँछन । श्रीकृष्ण जन्माष्टमीमा घुन्यासरको फुल अनिवार्य जस्तो हुन्छ । त्योसँगै ज्यामिर, अमिला, पाती, पसाउन लागेको धानको बोट, उखु काक्रा, दही पनि श्रीकृष्णको नाममा चढाइन्छ ।

    ghunyasar.jpg
    घुन्यासरको फुल

    दिनभर निराहार ब्रत बसेका महिला युवतीहरु साँझ हुन थालेपछि नयाँ–नयाँ लुगा र गरगहना लगायत श्रृंगार–पटार गरेर सजिन्छन । यसरी सजिएर उनीहरु सबैजना गाउँको अगुवा अर्थात महटवाको घरमा श्रीकृष्ण (कन्ह्वा) को पुजा गर्न जान्छन । पुजा गर्न जाँदा उनीहरु आफ्नो घरको कुल देवता राखिएको (डिहुरार) कोठामा घरमूलीले थालमा चामल, पाती, पुस्प र पातमा सिन्दुर आदि राखेर त्यसमाथि माटोको पालामा तोरीको तेल राखेर बत्ति बालिन्छ । यसरी देउताको थानमा बालेको बत्ति लिएर पुजा गर्न जान्छन ।

    महटाँवाको घरमा गएपछि त्यहाँको घरमूलीले अष्टमी अर्थात कृष्णको पूजा गर्ने ठाउँमा चामल, घुन्यासर, ज्यामिर, अमिला र राखिदिन्छन् । त्यसपछि गाउँका सबै महिलाहरुले पालै पालो पुजा गर्ने सामानहरु लक्सरै राख्दछन । घरमूलीले कृष्णको पूजा गरेपछि गाउँका सबैले पालैपालो पूजा गर्दछन् । यसरी कृष्णको पूजा गर्ने बेलामा थारु समुदायका महिलाहरु भगवान कृष्णलाई सम्झदै गीत पनि गाउँछन । कृष्णको पूजा सकेपछि सबै जना आआफ्नो घरमा जान्छन । घरमा गएर उनीहरु स्याउ, केरा, बेलौती, दही, दुध, काक्राहरु दिदीबहिनीले आफ्ना दाजुभाईको लागि छुट्याउँछन् त्यसपछि अग्नी देउतालाई चढाएर आफु खान्छन् ।

    खानपिन गरेर ब्रत बसेका सबै महिलाहरु भोली बिहानको तयारीमा जुट्छन । उनीहरु भोलीकोलागि तरकारीहरु केलाएर घरको काम सकेर फेरी महटाँवाको घरमा जान्छन । उनीहरु पुजा गरेको ठाउँमा बसेर दुना, टपरी लगाउँदै कृष्णको गीत गाउँदै, पुजा गर्दा अगाडी बालेको दियोमा तेल थप्दै रातभरी जागाराम बस्दछन । कृष्णको अगाडी बालेको दियो निभेमा मनोकांक्षा पूरा हुँदैन भन्ने मान्यता छ । रातभरी गीत गाउँदै बसेका महिला युवतीहरु भालेबासेसँगै आ–आफ्नो घरमा गएर भात लगायत थरिथरिका तरकारी पकाउँछन् । तरकारीमा गेडा, पवइको साग, पाप्रो, बोडी, भिन्डी र माछाको तरकारी पकाउँछन् । आजको दिनमा तीन, पाँच अथवा सात थरीको तरकारी पकाउनुपर्छ । तरकारीमा पिसेको मसला प्रयोग हुँदैन । मसला, खुर्सानी पिसेर राख्दा तरकारी जुठो हुन्छ भन्ने मान्यता छ । त्यसैले तरकारीहरुमा नुन, तेल, बेसार अलाव खुर्सानी चिरेर राखिन्छ ।

    pawai.jpg
    पवइको साग

    बिहान भात तरकारी पकाईसकेपछि, सबै व्रतालुहरु नुहाएर फेरी नयाँ लुगा, लगाएर महटावाको घरमा जान्छन । महटावा घरमा सबैजना पालै पालो पुजा गर्छन । त्यसपछि पुजाको सामान लिएर खोला, नदीमा सेलाउन जान्छन । पूजाको सामान सेलाईसकेपछि महिलाहरु नदी तलाउबाट लोटामा पानी लिएर घरमा फर्किन्छन् । घरमा आएपछि सबै व्रतालुहरुले पकाएको भात र तरकारी टपरी र दुनामा पस्किन्छन् । यसरी पस्किएको खाना पहिला आ–आफ्ना दाजुभाईकालागि छुट्याईएको खाना चेलीहरुले दाजु–भाईलाई दिन्छन् । जस्लाई अग्रासन भनिन्छ । सबै व्रतालुले खाना खाएपछि मात्रै घरका अन्य सदस्यहरुले खाना खान्छन ।

    पुस्तान्तरण हुन सकेन चित्रकला

    केही वर्षयता थारु समुदायमा अष्टमीकोलागि पुजा गर्न बनाइने चित्रकला पुस्तान्तरण हुनसकेको छैन । जसले गर्दा आजभोलि बजारबाट भगवान कृष्णको पुजा गर्नकोलागि पोस्टर किनेर ल्याउने संस्कृतिको विकास भएको छ । अहिले सामुहिक रुपमा पुजा गर्ने चलन पनि हराउँदै गएको पाईन्छ । सानै उमेरबाट अष्टमीकोलागि भत्तामा चित्रकला बनाउँदै आएका बासुदेव चौधरीले नयाँ पुस्ताले चित्रकला बनाउनकोलागि चासो नदेखाएको बताउँछन् । खागसरी, थारु समुदायमा अष्टमीको पुजा गर्नको लागि महटावाँको घरमा बैठकको माथीको भित्तामा भगवान श्रीकृष्णसहित, सुर्य, चन्द्र, बरमुर्वा, पाँच पाण्डव, माछा, विच्छी, सर्प, बाँदर, डोली, डुँगा, हलोले जोत्न लागेको मासिनको चित्र बनाईन्छ । चित्र बनाउन कालो रंगको ब्याट्रिको कालो भाग प्रयोग गरिन्छ । त्यसैगरी रातो रंग पवइको गेडाबाट बनाईन्छ । हरियो रंग सिमीको पातको रसबाट बनाईन्छ ।

    ghunyasar phool.jpg
    घुन्यासरको फुल

  • सम्बन्धित विषय:

  • # श्रीकृष्ण जन्माष्टमी

  • अञ्जना चौधरी
    लेखकबाट थप