काठमाणडाैं,९ फागुन । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमसीसी सम्झौता आर्थिक सहायताको नाममा सार्वभौम अधिकार खण्डित गर्ने गरी आएको बताएका छन् । यो आइपीएसको एउटा पार्ट भएको भनेर घोषणा गरिएकाले एमसीसी सम्झौता राष्ट्रहितमा नरहेको उनले बताएका हुन् ।
एमसीसी अमेरिकाले आर्थिक सहायताका रुपमा मात्र सहयोग गरेको भए स्वीकार गर्न सकिने भन्दै वर्तमान अवस्थामा स्वीकार नगर्ने प्रष्ट पारे । उनले भने, ‘यो परियोजना नितान्त आर्थिक सहायताका रुपमा भनेको भए पास गरेर जान सकिने थियो, परिमार्जन नगरि यही अवस्थामा पास गर्नु हुँदैन ।’
संसदबाट फाइनल होस भनेर सरकार अघि बढेको बताउदै गुरुङले यसको विरोध गरेपनि संसदमा टेबल भएको बताए । कानुनविदहरुसँग छलफल गरेर अघि बढ्नु पर्ने भन्ने मान्यताका साथ माओवादीले फरक मत राखेपनि सदनमा जवरजस्ती टेबल भएको उनले बताए । यो संझौता राष्ट्रिय हित विपरित भएकाले कार्यन्वायन गर्ने कुरामा सहमति नहुँने उनकाे भनाइ छ।
एमसीसीका विषयमा विवाद भएसँगै पार्टी सरकारबाट हट्नु पर्छ भनेर निर्णय गरिसकेको समेत उनले बताए। कहिले हट्ने भन्ने प्रश्नमा उनले तेस्राे आँखासँग भने, ‘आवश्यक्ता अनुसार जहिले पनि हुन सक्छ ।’ ‘वर्तमान अवस्थामा माओवादीको मुलधार भनेको एमसीसीको विपक्षमा उभिने हो,’ गुरुङले भने ।
सदनमा टेबल भएको एमसीसीका विषयमा १२ गते छलफल गर्ने र दफाबार छलफल पछि आवश्यक्ता अनुसार अघि बढ्ने गुरुङले बताए । ‘एमसीसी टेबल भइसकेपछि सरकारका घटकहरुले स्वतन्त्र रुपमा आफ्नो मत जाहेर गर्न पाउने प्रधानमन्त्रीको भन्नुभएको सुनेको छु, त्यही अनुसार अघि बढ्छौं,’ उनले भने ।
