पोर्चुगल, १९ भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज युरोपको पोर्चुगलको अभेरोमा मनाईएको छ । अभेरो जिल्लास्थित पारदिल्होमा रहेका नेपाली समुदायले हरेक वर्षझैँ यो वर्ष पनि विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान सहित भव्य रुपमा तिज पर्व मनाएका छन् ।
हरितालिका तीजको अवसर पारेर यहि सेप्टेम्बर १ मा भएको उक्त कार्यक्रमा नेपालीहरुका अतिरिक्त अतिथिहरूमा केही पोर्चुगिस नागरिकहरुको समेत सहभागी रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाली जेष्ठ नारी कालिका ढकाल तथा विशेष सूर्य गुरुङको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । त्यसैगरी अन्य अतिथिहरूमा अन्थोनिया, पाउला, चक्र गुरुङ र सुकुमायाँ घलान रहनु भएको थियो ।
'प्रवासी भूमिमा कामबाट बचेको थोरै समयलाई पनि सदुपयोग गरेर आफ्नो मौलिक कला, संस्कृति तथा चाडपर्व मनाउनु महत्त्वपूर्ण कुरा हो । यसलाई निरन्तरता दिनका लागि आजको उपस्थितिले पनि हौसला प्रदान गरेको छ ।'
आजकल तीजको नाममा भड्किलो परम्परा र सस्तो संस्कृति हावी भइरहेको तथा बजारमा आएका तीज गीतहरुले नेपाली समाजमा विकृति र विसङ्गती फैलाउने अश्लील शब्दजाल बुनिरहेको परिप्रेक्ष्यमा पोर्चुगलका नेपाली समुदायले तीज सम्बन्धि मौलिक गीत-सङ्गीतको प्रयोग गरेर आफ्नै रितिरिवाज अनुसार एक सभ्य कार्यक्रमको आयोजना गरि तीज पर्व मनाएका छन् ।
यस्तो किसिमको मौलिक नेपाली कार्यक्रमको साक्षी हुन पाउनु, यति मिठो मायाँ, माहौल र सदभावपूर्ण व्यवहार पाउनुले आफु लगायत उपस्थित सबै दिदिबहिनी, दाजुभाइ लगायत सम्पूर्ण नेपालीहरु हर्षित भएको भन्दै कार्यक्रममा सहभागी नेपालीहरुले खुशी व्यक्त गरे ।
कार्यक्रममा यस्तो उत्साहजनक उपस्थितिले आगामी दिनमा पनि यस्तै मौलिक नेपाली कार्यक्रम गर्न हामीलाई थप उर्जा मिलेको सहजकर्ता लक्ष्मी गुरुङले बताइन् ।
