तुलसीपुर २० भदौ । तुलसीपुर मेट्रो कलेजले प्रकाशन गरेको मेट्रो जर्नलको विमोचन गरिएको छ । अनुसन्धानमुलक जर्नलको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बिमोचन गरेका हुन् ।
जर्नलको विमोचन गर्दै उपकुलपति बज्राचार्यले अनुसन्धानमुलक कार्य कलेजको पहिचान भएको भन्दै प्राज्ञिक कार्यको सुरुवात भएकोमा खुसी ब्यक्त गर्नुभयो । विश्वविद्यालयले विश्वभर नै बुद्धको सन्देश प्रवाह गर्ने उद्देश्य लिएको बताउँदै उपकुलपति बज्राचार्यले विभिन्न आधुनिक विषयहरु पनि बुद्ध दर्शनलाई समावेश गरेर सञ्चालन गरिएकोमा जोड दिनुभयो । ‘हामीले बुद्ध दर्शनलाई जोडेर नयाँ नयाँ कार्यक्रमहरु पनि सञ्चालन गरिरेहका छौ ।’ उहाँले भन्नुभयो । तुलसीपुर मेट्रो कलेज विश्वविद्यालयको साझेदारी कलेज भएको भन्दै उहाँले आंगिक कलेजका रुपमा अगाड बढाउने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले तुलसीपुर मेट्रो कलेजलाई केन्द्रमा राखेर विश्वविद्यालयले नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । ‘हामीले अहिलेको जनशक्तिलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गर्नेछौ ’उहाँले भन्नुभयो । मानव जीवनमा अनुसन्धानको अहम् भुमिका हुने बताउँदै प्राज्ञिक खोजका लागि गरिएको अनुसन्धानले ब्यक्ति र संस्थालाई नयाँ उचाइ दिने उहाँको भनाई थियो ।
तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगर प्रमुख घनश्याम पाण्डेले शैक्षिक संस्थाहरुले वर्तमान समस्याको समाधानका लागि पनि अध्ययन गर्नुपर्ने कुरामा जोड दिनुभयो । कलेजका संस्थापक सञ्चालक समिति अध्यक्ष समेत रहेका पाण्डेले कलेजलाई उच्च शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा राप्ती बबई बहुमुखी क्याम्पसका प्रमुख गणेश पार्धे,वडा नम्बर १२ का अध्यक्ष खुसी राम चौधरी, कलेजका सल्लाहकार श्याम डाँगी, जर्नलका सम्पादक महेन्द्र भण्डारी र श्रीराम चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो । कलेज सञ्चालक समितिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कलेज प्रमुख बसन्त आचार्यले गर्नु भएको थियो ।
