हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हो । यस पर्वको आफ्नै किसिमको विशेषता र महत्व रहेको छ । विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउँ भन्दै भगवान शिवको प्राप्तिकालागि कठोर तपस्या गरेको उल्लेख गरिएको छ । पार्वतीका मातापिताले भगवान विष्णुसँग विवाह गर्ने निर्णय गरेको थाहा पाएपछि देवी पार्वती घर छोडेर जंगलमा गइ कठोर तपस्या सुरु गरिरहँदा पनि आफ्नो तपस्याले पूर्ण सफलता प्राप्त नगरेपछि उनले शिवलिङ्ग स्थापना गरी आफ्नै योगलाई थप उचाइमा पुर्याइन् । देवी पार्वतीको कठोर तपस्या थाहा पाएपछि भगवान शिव प्रकट भइ चिताएको कुरा छिटै प्राप्त होस् भनी आशिर्वाद र माता पार्वतीले भगवान शिवलाई प्राप्त गरेको भन्ने धार्मिक भनाइ रहेको छ ।
जीवनमा व्यक्तिको संकल्प, दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्व आफैमा विशिष्ट छ । यो पर्वलाई विवाहित वा अविवाहित दुवै हिन्दु नारीहरुले मनाउँदै आएका छन् । यो पर्व भदौ शुक्ल द्वितीयादेखि भदौ शुक्ल पञ्चमी चार दिनसम्म स्वतन्त्र, आनन्द अनि उल्लासपूर्ण तरिकाले मनाउँदै आइरहेका छन् ।
तीज पर्वमा नेपाली समाजका हिन्दु महिलाहरुले पानी समेत नपिइ कठोर तपस्या गर्छन् । भगवान शिव र पार्वतीको मिलन भइ वैवाहिक जीवनमा बाँधिएपछि देवी पार्वतीले सोही दिनदेखि आफ्ना पतिको आरोग्यता, दीर्घायुकालागि व्रत उपासना गरेकीले त्यो दिनदेखि तीज पर्व मान्ने चलन चलेको र नेपाल भरका महिलाहरुले तीज पर्वमा विधिवत पूजा उपासना गर्दै आइरहेको देखिन्छ । भाद्र शुक्ल द्वितीयाको दिन विहान स्नान गरी शुद्ध भोजन ग्रहण गरेपछि बेलुका विभिन्न परिकार तयार गर्ने र आफ्ना छोरी, चेली बोलाइ सबैसँगै बसेर रमाइलो गर्दै दर खाने अनि राति सुत्ने, भोलिपल्ट विहानै उठेर स्नान गरी नयाँ वस्त्र, चुरा, डोरी धारण गरी शृङ्गार र सजावटले सजिएर पवित्र वस्त्रमा दिनभर भगवान शिवको स्मरण गर्दै दिदीबहिनीहरु जुटेर नाचगान गरी रमाइलो गर्दै रात परेपछि भगवान शिव र पार्वतीको पूजा गर्दै मध्यरातमा व्रत समापन गर्दछन् । विवाहित नारीले पतिको दीर्घयु र आफ्नो सौभाग्यकोलागि यो व्रत गर्दछन् भने अविवाहित नारीहरुले असल पति प्राप्तिको कामना गर्दै यो पर्व सम्पन्न गर्दछन् ।
तीजको अघिल्लो दिन दर पकाउँदा र खाँदा स्वास्थ्यलाई फाइदा हुने हितकर भोजन खानु उत्तम हुन्छ । तर पछिल्लो समयमा एक महिना अघिदेखि विभिन्न होटल, रेष्टुरेन्टमा गइ तीजलाई उत्ताउलो र भड्किलो बनाउँदै गएकोमा आफ्नो संस्कार र मौलिकता लोप हुने अवस्थामा पुगेको देखिन्छ । देशमा भित्रिएको पश्चिमेली संस्कृतिले नेपालमा जरा हालिसकेको छ । कुनै कुनै गीत समाजमा, घरपरिवारमा बसेर सुन्नै नसकिने खालका आइरहेका छन् । त्यस्ता छाडा गीत र नृत्यले भावी पुस्तालाई कस्तो सन्देश दिन्छ होला ? एक पटक सबैले सोच्ने बेला आएको छ ।
हाम्रो संस्कार, सभ्यता मौलिकता संरक्षण गर्न आम नेपाली लाग्नु पर्ने भएको छ । एकदिन साथीभाइ, घरपरिवार, आफन्त, छोरी, चेली बसेर सुखदुख साट्ने यो मौलिक चाड महिनौ दिन मान्ने प्रचलन भित्रिएपछि यसको महत्व खस्किदै गएको छ । भड्किलो पर्वको रुपमा विकसित भइरहेको तीज पर्वले सर्वसाधारण जनजीवनमा ठूलो प्रभाव पार्दै नैराष्यता उत्पन्न गराइरहेको छ । यसकै कारण विभिन्न घटनाहरु घटिरहेका छन् । सौहार्दता, सद्भावना, प्रेम र अपनत्व बाँड्दै हर्षले मनाउने तीज क्रमशः महत्वहीन बन्नु आफैमा दुखद पक्ष हो । यसरी चाडवाडमा आयातित संस्कृति भित्रिरहेको अवस्थामा हामी सबै त्यसतर्फ सचेत रहनु नितान्त आवश्यक देखिएको छ । यस्ता विकृतिहरु हटाइ आफ्नैपनमा फर्किन अनि सभ्य समाजको निर्माण गर्न आजैदेखि लाग्नु हामी सर्बको कर्तव्य हो ।
भवानी न्यौपाने (भावना)
