काठमाडौं, ११ फागुन । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको छ। नाबालिग गायिकालाई विवाहकाे प्रलाेभनमा पारेर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै शाहविरुद्ध जाहेरी दर्ता भएको हो।
जवर्जस्ती भएकाे भनिएकी गायिका १७ वर्ष पुगेकी छन्। आफूमाथि याैन दुर्व्यवहार भएकाे भन्दै उनले बुधबार शाहविरुद्ध उजुरी दिएकी हुन् ।
यसअघि शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ताको प्रयास भएपनि दर्ता हुन सकेकाे थिएन। कास्कीले आफ्नो कार्य क्षेत्र नपरेको भन्दै एक महिना अघि नै तनहुँमा जाहेरी दर्ता गर्न सुझाएको थियो। सोही अनुरुप आज तनहुँमा उनीविरुद्ध जाहेरी दर्ता भएको हो।
नेपालको कानुनअनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्नु बलात्कार हो। सार्वजनिक भएको अडियोबाटै शाहले ती नाबालिगसँग शारीरिक सम्बन्ध राखेको पुष्टि हुन्छ। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।
