रोल्पा, २९ भदौ । रोल्पाको सूर्योदय माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनमा सहमति जुट्न नसक्दा निर्वाचनबाट समितिगठन गरिएको छ । विव्यस गठनका लागि अभिभावकहरु बिचमा पटकपटक छलफल हुँदा पनि सहमति जुट्न नसक्दा विद्यालयमा निर्वाचनको माध्यमबाट समिति गठन गरिएको हो ।
उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समितिको म्याद गत चैत १४ गते सकिएको छ । समितिको म्याद सकिएको करिब ६ महिनासम्म पनि समिति गठनमा सहमति नहुँदा निर्वाचन प्रक्रियाबाट समिति गठन भएको विद्यालयका प्रधानाध्यापक वेगम कवरले बताउनुभयो । विव्यस गठनका लागि शिक्षा ऐनले निर्वाचनको परिकल्पना गरेको छैन तर सहमति नहुँदा चुनावी प्रक्रियामा जाने बाध्यता बनेको उहाँले बताउनुभयो ।
राजनैतिक दलहरुको बिचमा अडान कायमै रहदा यस्तो अवस्था आएको निवर्तमान विव्यस अध्यक्ष खिमचन्द्र पुनमगरले बताउनुभयो । खासमा विद्यार्थीको भविष्यको लागि यति लामो समयसम्म विव्यस गठनमा अल्झिएर बस्नु राम्रो नभएको उहाँको धारणा छ । लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएकोले निर्वाचनबाट समिति छनौट गर्ने प्रक्रियाको सिर्जना भएको उहाँले बताउनुभयो।
विद्यालयमा विव्यस गठनका लागि पटकपटक अभिभावक भेला गराउदा पनि सहमति जुट्न नसक्नुमा अभिभावक भन्दा पनि गैरअभिभावकहरुको उपस्थित भएर चुनाव गराउनमा चलखेल भएको वडा शिक्षा समिति सदस्य पूर्णबहादुर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, हामी वडा र गाउँपालिकाबाट धेरै प्रयास गर्यौ तर ती प्रयासहरु सफल भएनन् । समिति गठनका लागि सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रियाबाट समिति गठन गर्न लागिएको उहाँले बताउनुभयो ।
विव्यस गठनका लागि राजनैतिक दलको प्यानलः
विव्यस गठनका लागि राजनैतिक दलका आधारमा दुई प्यानल खडा गरिएको थियो । जसमा नेकपा (माऒवादी केन्द्र) बाट गिरबहादुर गिरी, तोएराम विष्ट, बिना महरा र शुभद्रा महरा रहनु भएको छ भने अर्को नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बिच गठबन्धन गरीगरि २ प्यानलमा निर्वाचन भएको थियो । जसमा ताराचन्द घर्तिमगर र जमुना पुनमगर नेपाली कांग्रेसबाट, धनबहादुर विष्ट नेकपा एमाले र हेमसरी घर्ति राप्रपाबाट उम्मेदवार रहनु भएको थियो ।
निर्वाचनबाट गिरबहादुर गिरी, तोएराम विष्ट, जमुना पुनमगर र हेमसरी घर्ति निर्वाचित हुनुभयो । गरिबहादुर गिरी र तोएराम विष्ट नेकपा (माऒवादी केन्द्र) भने जमुना पुनमगर र हेमसरी घर्ति गठबन्धनका उम्मेदवार हुनुहुन्छ । यसरी राजनैतिक दलहरु नै विभाजित भई शान्ति क्षेत्र मानिएको विद्यालयमा निर्वाचनबाट समिति गठन हुनु नराम्रो पक्ष भएको अभिभावकहरु बताउछन् । विद्यालय क्षेत्रमा गरिएका यस्ता क्रियाकलापले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर थप खस्कदै जाने संकेत देखिन्छ । विद्यालय व्यवस्थापन समिति महासंघ रोल्पाका अध्यक्ष नाम बहादुर विक भन्छन् ूविव्यस गठन अभिभावकको उत्तरदायित्व भित्र पर्ने विषय हो, तर यसरी निर्वाचन हुनु राम्रो पक्ष होइन । शिक्षा जस्तो परित्र मन्दिरमा पार्टीगत रुपमा प्रचारप्रसार गर्दै निर्वाचन गरिनुले विद्यालयको शैक्षिक गुणस्तर खस्कदै जाने देखिन्छ, उहाँले भन्नुभयो । राजनैतिक दलहरुले राजनैतिक हस्तक्षप छैन भन्छन तर विद्यालयमा यस्तो हुनुले राजनैतिक हस्तक्षप भएको भन्ने देखाउछ उहाँले थप्नुभयो ।
विद्यालयमा समिति गठनका लागि निर्वाचन हुनु राम्रो पक्ष नभएको अभिभावक चेतमान विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, विद्यालयमा राजनिति गर्नु ठिक होइन्, लामो समयसम्म पनि समिति गठन नहुँदा विद्यालयले माध्यामिक तहको गणित शिक्षक नियुक्त गर्न सकेको छैन् । निर्वाचन प्रक्रियाबाट समिति गठन भए पनि तत्कालै भएको भए राम्रो हुने थियो उहाँले भन्नुभयो ।विव्यस गठनका लागि निर्वाचन हुँदा निर्वाचनमा होमिएका उम्मेदवारहरुले भोट हाल्नका लागि विद्यालयसम्म अभिभावकलाई ल्यान र खाना खुवाउनका लागि समेत खर्च गरिएको पाइएको छ । यस्तो अवस्थाले प्रतिनिधि सभा निर्वाचनको झल्को दिएको स्थानीयले बताए। उम्मेदवारहरुले गाउँगाउँबाट अभिभावक विद्यालय आउनका लागि गाडी र बजारमा खानको व्यवस्था समेत गरेका हुन् ।
सुनिलस्मृति गाउँपालिकाको हकमा यो पहिले अभ्यास भने होइन् । केहि वर्ष अघि सुनिलस्मृति ३ मा अवस्थित चन्द्रप्रभा माध्यामिक विद्यालयमा पनि विव्यस गठनका लागि निर्वाचन बाटै समिति छानिएका थिए। विद्यालय शिक्षामा दलीय राजनीतिक रंग लागेपछि सामुदायिक विद्यालयले गुणस्तर गुमाउँदै गएको आरोप खेपिरहेको बेला विद्यालय व्यवस्थापन समितिको गठनमा समेत राजनीतिक खेमा देखापर्नु सामुदायिक विद्यालय शिक्षाका लागि दुर्भाग्य हो ।सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ । विद्यालयमा सक्रिय रूपमा राजनीतिक गतिविधि गर्न नपाउने भनिरहेको बेला सामुदायिक विद्यालयमा विव्यस गठनमा यस्तो देखिनुले शिक्षाको गुणस्तर थप खस्कदै जाने एक अभिभावकले बताए ।
भरत विश्वकर्मा
