तुलसीपुर, १ असोज । तुलसीपुरको बसपार्कमा विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले निर्माण गरेको मन्दिर विश्वकर्मा पूजाको अवसरमा एक कार्यक्रमकाबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो ।
त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख अतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै मेयर खड्काले मजदुरहरुले प्रयोग गर्ने फलामले विश्वभरमा काम चल्ने र त्यही फलामबाट बनेका मेसीनरी वस्तुहरुको पुजा गर्दा पेशाको ग्यारेन्टी हुने मान्यता रहेको बताउनु भयो । “जसले रोजगारको सर्जना गर्छ, पेशाका निम्ति मजदुरहरुलाई आवद्ध गरायो त्यो नै विश्वकर्मा बाबा हो” उहाँले भन्नुभयो “जसरी विश्वकर्मा बाबालाई पुज्ने गरिन्छ त्यो नै फलाम, मेसिन पुज्ने हो ।”
त्यस्तै उहाँले यातायात क्षेत्रमा काम गर्नेहरु, गाडी चलाउने, यात्रा गर्नेहरु, रातीको अनिद्रामा खट्नेहरुले एकछिन भएपनि विश्वकर्मा बाबाको नजिक गएर आरधना गरेपछि सन्तुष्टि प्राप्त हुने मान्यता रहेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि एवं वडा नं. ५ का वडाअध्यक्ष विरेन्द्र कुमार शाहले यातायात क्षेत्रमा पहिले भन्दा अहिले केही सुधार भएका संकेतहरु देखिएता पनि अझ धेरै कुराहरु सुधार गर्न बाँकी रहेको भनाइ राख्दै यात्रा प्रारम्भ गर्दा विश्वकर्मा बाबाको मन्दिर दाहिने पारेर यात्रा गर्दा यात्रुहरुप्रति सेवाभावको भावना जाग्रित हुने धारणा व्यक्त गर्नुभयो ।
उक्त अवसरमा त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बसपार्कमा स्थापना भएको विश्वकर्मा बाबाको मन्दिर परिक्रमा गरेर यात्रा सुरु गरेपछि गन्तव्यमा सकुसल पुग्नको लागि विश्कर्मा बाबाको आशिर्वाद रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले तुलसीपुर बसपार्कको पार्किङ शूल्क नेपालमै महंगो भएको तर त्यसअनुसार उपमहानगरपालिकाले सेवा र सुविधाहरु उपलब्ध नगराएको औंल्याउँदै कम्तिमा बसपार्कभित्र सेक्युरिटी गार्डको व्यवस्था मिलाउन, सिसिटिभिको व्यवस्था गर्न, बसपार्क परिसरमा कालोपत्रे गर्न र बत्तिको व्यवस्था मिलाउन मेयर टीकाराम खड्कासँग आग्रह गर्नुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेलले विश्वकर्मा बाबाले विश्वलाई काम दिने र यसको पुजा गर्नाले गाडी तथा मेसिनरी वस्तु प्रयोगमा टिकाउ हुने बताउनु भयो ।
झण्डै ७ लाख खर्चेर गत बैशाख १ गते निर्माण गरेर तयार परिएको विश्वकर्मा बाबाको मन्दिरको आज असोज १ गते विश्वकर्मा बाबाको अवसर पारेर उद्घाटन गरिएको हो । उक्त अवसरमा मन्दिर निर्माण तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रम यातायात कर्मचारी प्रकाश भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको सञ्चालन त्रिसिद्धेश्वरी यातायातका प्रेस सल्लाहकार एवं सञ्चारकर्मी शरद रेग्मीले गर्नुभएको थियो ।
