रोल्पा,१ असोज । रोल्पाको माडी खोलामा एक पुरुषको शव फेला परेको छ । रोल्पा नगरपालिका-७ भलाना स्थित माडी खोलामा एक वृद्धको शव फेला परेको रोल्पा प्रहरीले जनाएको छ । शव सोमबार बेलुका करिब साढे ५ बजेको समयमा फेला परेको थियो ।
खोलाको किनारामा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको बताइएको छ । मृतक माडी गाउँपालिका-६ सारिगा बस्ने बर्ष ७६ को विरसिंह घर्तिमगर रहेको प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो ।
मृतकको शव जिल्ला अस्पताल रोल्पामा राखिएकोमा मंगलबार परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ । शवको परीक्षण कार्य भैरहेको बताइएको छ ।
दुर्घटना स्थलमा प्रहरी चौकी माडिचौरबाट प्रहरी सहायक निरीक्षक केशर बहादुर घर्तिमगरको कमाण्डमा २ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहित कुमार शाहीको कमाण्डमा १० जनाको टोली खटिएका थिए ।
भरत विश्वकर्मा
