तुलसीपुर, २ असोज । रुकुम पश्चिम त्रिबेणी गाउँपालिका वडा नम्बर ५ स्थाइ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कट्कुइयाँ बस्ने २९ बर्षिय घमण्ड महरले बंगुर पालन व्यबसाय संचालन गर्दै आउनुभएको छ । उहाँले ८० देखि १०० वटासम्म बंगुरका माउहरु पाल्न मिल्ने फार्म बनाउनुभएको छ । २०७८ सालदेखि उहाँ निरन्तर बंगुर पालनमा हुनुहुन्छ । ‘सिभिल ओभरसियर पढेर जागिर गर्दैगर्दा बजारमा बुंगुरका धेरै माग थियोे । त्यसैले म बंगुर पालनतर्फ आकर्षित भएँ’ तेस्रो आँखासँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘मैले यो व्यवसाय सञ्चालन गरेको तीन बर्ष पूरा भयो ।’
शिक्षा बिषयमा स्नाकोत्तर अध्यायन गरिरहनुभएका महरले सुरुमा ५ लाख लगानीबाट बंगुर पालन व्यवसाय सुरु गर्नुभएको थियो । अहिले यो व्यवसायमा उहाँको लगानी १२ देखि १५ लाखसम्म पुगेको छ । उहाँले पछिल्लो समय ल्यान्डरेस, ह्राम्पसायर र लोकल जातका बुगंरपालन गर्नुभएको छ । जिल्लाकालागि यी प्रजातिका बंगुर नयाँ भएको उहाँले तेस्रो आँखालाई बताउनुभयो । उहाँसँग १५ देखि २० वटा माउ बंगुर छन भने ४० वटा पाठापाठी छन । महरले मासुकालागि भन्दा पनि बंगुर पालन गर्नेहरुकालागि पाठापाठीहरु उत्पादन गर्नुहुन्छ । उहाँले पालेका बंगुर राम्रो प्रजातिका भएकोले रोग लाग्ने सम्भावना कम रहेको महरको भनाई छ ।
एउटा बंगुरले एकपटकमा १० देखि १५ वटासम्म पाठापाठी जन्माउँछ । एउटा माउ बंगुरले बर्षमा दुई पटकसम्म पाठापाठीहरु पाईरहेको उहाँले जानकारी दिनुभयो । ४० देखि ४५ दिनमै पाठापाठी बेच्नाकालागि तयार हुन्छन् । पाठापाठीहरुको माग अनुसारको उत्पादन नभएपछि अहिले उहाँलाई बजार धान्न मुस्किल छ । एउटा पाठापाठीलाई ५ हजारसम्म पर्ने र फाइदा यसैबाट रहेको उहाँले भन्नुभयो । पाठापाठीकालागि ग्राहकहरु तुलसीपुर, घोराही, बुटवल, काठमाडांै र नेपालगन्ज लगायतका ठाउबाट गाडी नै लिएर फार्मसम्म आउने गरेका छन । उत्पादन गर्न सक्ने हो भने बजारमा बंगुरका पाठापाठीहरुको जति पनि माग रहेको उहाँको अनुभव छ ।
बंगुर पालनबाट महर सन्तुष्ट हुनुहुन्छ । खासगरि श्रीमतीकोलागि यो ब्यबसाय संचालन गरेको उहाँको भनाइ छ । ‘र आफुलाई पनि यस व्यवसाय प्रति उत्सुकता बढ्यो र मैले पनि अल्लि धेरै समय यसैमा दिएको छु’ महरले तेस्रो आँखासँग भन्नुभयो – ‘तीन बर्षको अबधिमा १८ देखि २२ लाखको हारहारिमा आम्दानी भएको छ । मासिक रुपमा कम्तिमा १ लाख जति आम्दानी हुन्छ र खर्च कटाएर ६० देखि ७० हजार रुपैया बचत हुन्छ ।’ यो ब्यवसायबाट बार्षिक ६ देखि ७ लाखसम्म आम्दानी हुने गरेको महरले बताउनुभयो । अहिले घर परिवार धान्ने मुख्य स्रोत नै यहि फर्म रहेको उहाँको भनाई छ ।
बंगुर पालन ब्यावसायमा बजारिकरण गर्न त्यति चुनौति नभएको उहाँको अनुभव छ । बंगुरमा देखापर्ने मुख्य रोगहरुमा अफ्रिकन स्वाईनफ्लु, भाईरल ईन्फेक्सन, खोरेत र खोइरो प्रमुख हुन । यस्ता रोगहरुको समयमै उपचार नगरे कहिले काहि मर्ने जोखिम पनि रहन्छ । साथै त्यसलाई न्युनिकरण गर्न चुनाहरु छर्कने, खोर सफा राख्ने, एन्टिवाइटिक औषधी प्रयोग गर्ने र खोरमा नयाँ मान्छेलाई प्रवेश गर्न नदिने हो भने यो समस्याबाट बचाउन सकिन्छ, उहाँले भन्नुभयो ।
आफुले यो व्यबसाय सञ्चालन गरेदेखि यता अन्य तीन जनाले पनि बंगुर पालन व्यवसाय सुरु गरिसकेको महरको दावी छ । महरका अनुसार यो ब्यवसायमा आउन चाहने नयाँ व्यक्तिहरुलाई बंगुर पालनसम्बन्धी प्राविधिक लागायतका ज्ञानहरु दिने गर्नुभएको छ । ब्यवसायिक रुपमा ७० देखि १०० वटासम्म माउ बंगुर पाल्ने लक्ष्य रहेको महरले बताउनुभयो । तर राज्यले कुनै पनि किसिमको सहयोग नगरेकोप्रति भने उहाँको गुनासो रहेको छ ।
