दाङ, २ असोज । दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरका विद्यालयमा उत्कृष्ट हुन सफल भएको छ । कक्षा १२ को तीन वर्षको नतिजा हेरेर देशभरका सरकारी विद्यालयहरु मध्ये मावि सेन्टर उत्कृष्ट भएको हो ।
तीन वर्षको नतिजा हेरेर राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकको आधारमा सरकारी विद्यालयतर्फ मावि सेन्टर देशभरमा उत्कृष्ट हुन सफल भएको हो । विद्यार्थीहरुको उतीर्ण प्रतिशत र प्राप्त गरेको औषत जिपिएको आधारमा विद्यालय देशभरमा उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
उत्कृष्ट भएसँगै विद्यालयले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्रीबाट एक भव्य समारोहकाबीच नगद ३ लाख रुपैँयासहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विद्यालयमा अहिले ११, १२ मा व्यवस्थापन संकाय, विज्ञान, प्राविधिकतर्फ इलेक्ट्रिकल, आइटी डिप्लोमा, नेपाली र अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ । अहिले विद्यालयमा करिब २८ सय विद्यार्थीहरु अध्ययनरत छन् ।
