शिक्षाको ‘हव’ बन्दै तुलसीपुर

शिक्षाको ‘हव’ बन्दै तुलसीपुर


  • 7.1K
    SHARES
    • आश्विन ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 11.0K Views

    शिक्षाको ‘हव’ बन्दै  तुलसीपुर

    तुलसीपुर, ३ असोज । नयाँ पुस्ताका बालबालिकाहरु लद्दु र असक्षम नभएको बरु शिक्षा दिने तरिका ठिक नभएको तर्क गर्दै हिजो एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो ‘एउटा रुची भएकालाई अर्कै शिक्षा दिइयो । जसले गर्दा विद्यार्थीहरू फेल भए ।’ उहाँका अनुसार शिक्षा दिने तरिका ठीक भएन । शिक्षा दिवसको अवसरमा प्रधानमन्त्रीले उपरोक्त धारणाहरु राख्दै गर्दा उहाँकै प्रमुख आतिथ्यमा भएको त्यही कार्यक्रममा दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर देशकै सर्वोत्कृष्ट विद्यालय भएको घोषणा गरियो । कक्षा १२ को गत तीनवर्षको नतिजा हेरेर देशभरिका सरकारी विद्यालयहरू मध्येबाट मावि तुलसीपुर सेन्टर सर्वोत्कृष्ट भएको थियो ।

    images

    IMG-20240918-WA0009.jpg

    सोही समारोहमा तुलसीपुरकै अर्को शैक्षिक संस्था तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) लाई पनि उत्कृष्ट शिक्षालय भएको घोषणा गरियो । डिप्लोमा तहको नतिजा र कलेजले वर्षभरी गरेको अतिरिक्त क्रियाकलपका आधारमा प्राविधिक शिक्षालयतर्फ मेट्रो कलेजलाई शिक्षा मन्त्रालयले देशमै उत्कृष्ट भएको घोषणा गरेको हो । शिक्षा क्षेत्रमा संस्थागत र सामुदायिक गरि तुलसीपुरका यि दुवै शैक्षिक संस्थाहरुले आर्जेको यो उपलब्धीलाई दाङ बासीकालागि गौरवपूर्ण भएको मान्न सकिन्छ । यसले तुलसीपुर लुम्बिनी प्रदेशमा मात्र नभएर देशकै शैक्षिक ‘हव’ बन्न थालेको छनक दिएकोछ ।

    IMG_0256.jpegसोही कार्यक्रममा तुलसीपुरको छिमेकी पालिका शान्तिनगर गाउँपालिका वडा नम्बर २ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयले सार्वजनिक विद्यालयतर्फ राष्ट्रियस्तरमा तृतीय स्थान प्राप्त गरेको छ ।

    WhatsApp Image 2024-09-19 at 4.17.43 PM.jpeg

    यति मात्र हैन, यसै वर्ष भएका विभिन्न परिक्षाहरुमा तुलसीपुरका अन्य शिक्षालयहरु पनि उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएका छन् । गत भदौको दोस्रो साता निकालिएको एउटा रिजल्टमा तुलसीपुरमा रहेको नीजि क्षेत्रबाट संचालित ज्ञान दीप कलेज नेपालकै दोस्रो भएको घोषणा गरियो । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसीए) सातौँ सेमेस्टर तर्फ ज्ञान दीप कलेजका छात्र कपिल बोहरा उत्कृट नतिजा सहित नेपाल दोस्रो भएका थिए । त्यसैगरी गोरखा ग्रुपले सञ्चालन गरेको तुलसीपुर स्थित गोरखा मोडेल कलेजमा व्यवस्थापन संकायमा अध्ययनरत कोमल केसी कक्षा १२ को परिक्षामा जिल्ला प्रथम हुन सफल भए । केसीले ३.८५ जिपिए ल्याएर जिल्ला प्रथम भएका थिए । गोरखा इन्टरनेसनल केलेज घोराहीमा विज्ञान संकाय तर्फ अध्ययनरत उत्सव घिमिरे ३.९६ जिपिए ल्याएर देशमै उत्कृष्ट हुन सफल भए । राष्ट्रिय परिक्षा बोर्डले २०८० सालमा लिएको कक्षा १२ को परिक्षामा उनी ३.९६ जिपिएसहित देशमै उत्कृष्ट भए । शैक्षिक उन्नयनमा लागेकाहरुका दंगालिहरुका निम्ति यो गर्व गर्न लायकको कुरा हो ।

    298553724_487339766730821_1873897137712714634_n.jpg

    महेन्द्र बहुमुखी क्याम्पस घोराहीका उपप्राध्यापक केवी चौधरीले  दाङका विद्यालयहरू देशमै उत्कृष्ट हुनु र विद्यार्थीहरु देशभरमै उत्कृष्ट अंकका साथ पास हुनु दाङकैलागि सुखद समाचार भएको बताउनुहुन्छ । यस्तो खालको रिजल्टले वास्ताममा शिक्षा क्षेत्रको गुणस्तरमा विस्तारै बृद्धि हुँदै गएको उहाँले बताउनुभयो । अहिले विद्यालय प्रशासन, विद्यार्थी र अभिभावक सबैले नयाँ शैलीबाट विश्वपरिदृष्यमा आफ्नो प्रतिस्पर्धा कायम गर्नुपर्ने चुनौती र मौका भएकाले सबैले राम्रो प्रयास गरेको उपप्राध्यापक चौधरी बताउनुहुन्छ । देशमै दाङका शैक्षिक संस्थाहरु अब्बल सावित हुनुमा सबैको प्रयास राम्रो छ । स्कुलले वातावरण दिनु, विद्यार्थीहरुले मेहनत गर्नु र अभिभावक जिम्मेवार हुनेकुराले स्कुलको नतिजामा सुधार ल्याउन सक्छ उहाँले भन्नुभयो । त्यो उदाहरण दाङको स्कुलले दिईरहेको अवस्था छ । हालै मात्र देशकै उत्कृष्ट भएको सेन्टर माविलाई बढाई छ । मेट्रो कलेजले छोटो समयमा धेरै राम्रो काम गर्न सफल भएको छ । अन्य सम्पुर्ण सरकारी र संस्थागत विद्यालयहरुले आफ्नो तर्फबाट मेहनत गरिरहेको देखिन्छ उहाँले भन्नुभयो । शैक्षिक गुणस्तर कसरी कायम गर्ने, मैले मेरो स्कुलकोलागि कसरी राम्रो गर्न सक्छु । अहिले यस्तो खालको वहस सृजना भएको छ । स्कुलको नेतृत्व बढी संवेदनशील भएको महसुस मैले गरेको छु । यो हामी सबैका लागि गौरवको कुरा हो ।

    यसबारे आफ्ना बिचारहरु ब्यक्त गर्दै तुलसीपुर उपमहानगर पालिका शिक्षा शाखाका प्रमुख चक्र भण्डारीले आफ्नै पालिकामा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले देशमै  उत्कृष्ट अंक ल्याएर पास हुनु र विद्यालयहरु पनि राष्ट्रिय स्तरमै सम्मानित हुनु तुलसीपुर बासीकालागि गर्वको कुरा भएकोे बताउनुभयो । यो सम्मानले शिक्षा शाखा अझ धरै गर्वान्वित भएको उहाँको धारणा थियो । यद्यपी शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने केही कुराहरु होलान, तर हिजोको दिनमा हामीले शिक्षा सुधारकालागि गरेको लगानीको अहिले प्रतिफल देखिन थालेको छ, भण्डारीले भन्नुभयो ।

    तुलसीपुर क्षेत्रमै राम्रो शिक्षालयहरु हुँदा हुँदै जिल्ला बाहिर आफ्ना छोराछोरीहरुलाई पढ्ने पठाउने क्रम भने अझै रोकिएको छैन् । कस्तुरीले आफ्नै शरिरमा विणा छ, भन्ने थाहा नपाएर जसरी भौतारी रहेको छ, त्यसैगरी तुलसीपुर क्षेत्रमा राम्रो पढाई हुने अथवा काठमाडौंका विद्यालयहरुसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षालय हुँदाहुँदै पनि अभिभावकहरु लहलहैमा लागेर भौतारि रहनु भएको भण्डारीले बताउनुभयो । तुलसीपुर क्षेत्रमै राम्रा खालका शिक्षालयहरु हुँदाहुँदै छोराछोरीलाई पढाउँनकैलागि जिल्ला बाहिर जानु पर्ने बाध्यात्मक अवस्था नरहेको भण्डारीको दावी छ । काठमाडौंको तुलनामा तुलसीपुर क्षेत्रमा रहेका विद्यालयहरुले राम्रो नतिजा दिनसक्ने भएकाले अभिभावकहरुले बुझ्नुपर्ने कुरा के हो भने, बालबालिका स्वभाविक रुपमा नयाँ ठाउँमा जान चाहान्छन, त्यहाँ गएर नयाँ कुरा सिक्लान त्यो आफ्नो ठाउँमा छ, तर आफ्नै घरमा बसेर, आफ्नै निगरानीमा राखेर, आफ्नै घरको खाना खुवाएर राम्रो शिक्षा यहीँ हासिल गर्न सक्ने भएकाले आफ्नै ठाउँमा छोराछोरीहरुलाई पढाउन उहाँले अभिभावकहरुलाई आग्रह गर्नुभयो । 

    यहाँका शैक्षिक संस्थाहरूले हाँसिल गरेको यो उपलब्धिको पछाडी उनीहरूको मेहनत स्पष्ट देखिन्छ । यसपटक तुलसीपुर नेपालमै शिक्षाको ‘हव’ बन्न सक्ने आशा लाग्दा किरणहरु देखिएका छन । तर रिजल्टमा मात्रै उपलब्धि हाँसिल नगरेर शिक्षालाई काम लाग्ने र व्यवहारिक बनाउन सके मात्र शिक्षाको वास्तविक रूपमा गुणस्तरीयता मान्न सकिन्छ । जुन शिक्षा हासिल गरेर ऊ बेरोजगार नहोस् र दैनिक रूपमा भैपरि आउने मुस्किलहरूको सामना गर्न सकोस । तबमात्र त्यो शिक्षालाई गुणस्तरीय मान्न सकिन्छ । जव तुलसीपुरको शैक्षिक स्तर त्यसतर्फ पनि केन्द्रित हुन थाल्छ, तब देशैभरिका विद्यार्थीहरूलाई यहाँ आकर्षित गर्न सकिन्छ । यसतर्फ यहाँका शैक्षिक संस्थाहरू सहित तुलसीपुर उपमहानगर पालिकाको शिक्षा शाखाले पनि विशेष ध्यान दिन आवश्यक छ ।

    संघीय सरकारले पनि विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन आवश्यक देखिन्छ र शिक्षा क्षेत्रमा बजेटको वृद्धि गर्न अहम जरुरी छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यमा मात्र होइन वास्तवमै चरितार्थ गर्न तुलसीपुरका शैक्षिक संस्थाहरू लाग्न जरुरी छ । तुलसीपुरलाई भर्खरै प्राप्त भएको यो सफलताले भविष्यका दिनहरूमा चुनौती र जिम्मेवारी दुवै थपिएको छ । प्रत्येक निमेसमा नयाँनयाँ नसोच्ने र प्रयोग नगर्ने हो भने अहिले प्राप्त गरेको यो सफलतालाई आउँदा दिनहरूसम्ममा  टिकाइ राख्न मुस्किल हुन जान्छ । अन्त्यमा, गुणस्तरिय र अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलकालागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्न सके शिक्षामा राम्रो प्रतिफल प्राप्त हुने सम्भावना देखिन्छ । यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।


    अञ्जना चौधरी
    लेखकबाट थप