दाङ, १२ फागुन। गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरको मेयरमा एमालेका नरुलाल चौधरी २२ हजार ३० मत प्राप्त गर्दै बिजयी हुँदा कांग्रेसका भुपबहादुर डाँगीले झण्डै साढे ४ हजार कम १७ हजार ४ सय ९४ मत प्राप्त गरे। माओवादीका जीवन गौतम १२ हजार ८२ मत प्राप्त गर्दै तेस्रो बने।
दाङकै तुलसीपुर उपमहानगरपालिकामा पनि मेयरमा एमालेकै जीत भयो। एमालेका घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरी झण्डै ४ हजार कम १९ हजार ९ सय ३ मत प्राप्त गर्दै दोस्रो भए भने माओवादीका शेषुराम भण्डारी ८ हजार ६ सय ९३ मत प्राप्त गर्दै तेस्रो भए।
जिल्लाका दुईवटै उपमहानगरको नेतृत्वमा बाजी मारेका एमाले जिल्लामा रहेको एक नगरपालिकामा पनि हावी भैदियो । जिल्लाको लमही नगरपालिकामा पनि एमलेकै कुलबहादुर केसी ५ हजार १ सय ५२ मत प्राप्त गर्दै मेयरमा निर्वाचित भए भने कांग्रेसका जोगराज चौधरी ५ हनार ६९ मत प्राप्त गर्दै दोस्रो भए। यो नगरपालिकामा पनि तेस्रो भएको माओवादीका द्रोपती पौडेलले ४ हजार ८१ मत प्राप्त गरिन्।
जिल्लाका दुई उपमहानगर, एक नगरपालिकामा हावी भएको एमाले गाउँपालिकामा पनि उस्तै जीतको हकदार बन्यो। जिल्लाका कुल ७ गाउँपालिका मध्य ३ गाउँपाालिकामा एमालेले जीत निकाल्यो भने कांग्रेसले पनि तीन गाउँपालिकाको नेतृत्वमा बाजी मार्यो। माओवादी एक गाउँपालिकामा जीतको हकदार बन्यो।
दाङमा मात्रै हैन, लुम्बिनी प्रदेशभरमै गत स्थानीय तहको निर्वाचनमा एमाले हाबी बन्यो। प्रदेशका कुल ४ उपमहानगरपालिका रहेको यो प्रदेशमा एमाले तीन उपमहानगरपालिकाको नेतृत्वमा बिजयी भयो। दाङका घोराही, तुलसीपुर, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एमाले बिजयी भयो भने बाँकेको नेपालगञ्जको उपमहानगरपालिकामा भने राप्रपा विजयी भयो। उपमहानगरमा काग्रेस , माओवादीको स्थान शुन्य भयो।
यसैगरि नगरपालिकामा पनि एमाले नै हाबी छ । प्रदेशका कुल ३२ नगरपालिका मध्य १२ नगरपालिकामा एमालेले मेयरमा जीत हात पारेको छ। यसैगरि दोस्रोमा कांग्रेसले ११ नगरपालिकाको नेतृत्व सम्हालेको छ भने माओवादीले ७ वटा नगरपाालिकामा जीत हात पारेको थियो।
यसैगरि दुई वटा नगरपालिकामा दुई जना स्वतन्त्र उम्मेदवारले जीत हात पारेका थिए। यसैगरि प्रदेशका गाउँपालिकाहरुको नेतृत्वमा पनि एमाले नै हावी छ। कुल ७४ स्थानीय तह रहेको यो प्रदेशमा एमालेले २७ गाउँपालिकाको नेतृत्वमा जित हात पारेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेस २२ गाउँपालिकाको नेतृत्वमा विजयी भएको थियो। यसैगरि माओवादी १४, तत्कालीन संघीय समाजवादी फोरम ६, तत्कालीन फोरम लोकतान्त्रीक २, राष्ट्रिय जनमोर्चा १ र १ स्वतन्त्र उम्मेदवार गाउँपालिकाको नेतृत्वमा विजयी भएका थिए।
गत स्थानीय तहको निर्वाचनबाट परिणामबाट पहिलो बनेको एमालेलाई पराजित गर्न अन्य दलहरुका लागि आगामी निर्वाचन चुनौती बन्ने भएको छ। मुलतः प्रदेशमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० वैशाखमा एमालेलाई उछिन्ने दाउ रच्ने छ। तर यसअघीको निर्वाचनमा पहिलो स्थान कायम गरेको एमालेले प्रदेशमा कायम आफ्नो बिरासतलाई डगमगाउन नदिने गरि चुनावी रणनीति बनाउने छ।
नेकपा खारेजी पश्चात विभाजित बनेको एमालेको कमजोर शक्तिलाई कांग्रेसले चुनाव जित्ने बलियो आधार बनाएको छ। एमालेबाट माधव कुमार नेपाल समूहको एक हिस्सा अलग बनेपछि एमाले पहिलेको शक्ति भन्दा कम बनेको छ। तर प्रदेश कांग्रेसले भने अन्य दलहरुको कमजोर शक्तिलाई आँकलन नगरेर कांग्रेसको बलियो संगठन निर्माण गरेर प्रदेशमा पहिलो दलका रुपमा कांग्रेलिाई उभ्याउने दाबी गर्छ।
‘हामीहरु अरु दलहरुमा आएको विभाजनलाई जीतको आधार मान्दैनौँ,’ कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले भने ‘हामीहरुले हाम्रो संगठनलाई बलियो बनाउँछौँ र कांग्रेसलाई पहिलो पार्टी बनाउँछौँ।’ सभापति पुनले उम्मेदवार चयन प्रक्रियामा विगतमा गरिएका कमजोरीका कारण कांग्रेसको अपेक्षित नतिजा नआएको भन्दै उम्मेदवार चयन प्रक्रियालाई पारदर्शी बनाइने बताए।
‘पार्टीको केन्द्रबाट राम्रोलाई भन्दा पनि हाम्रोलाई टिकट दिनुपर्छ भन्ने मानसिकता यसअघि रह्यो र हाम्रो अपेक्षित नतिजा विगतको चुनावमा आउन सकेन,’ सभापति पुनले भने ‘तर अब हामीहरुले उम्मेदवार चयन प्रक्रियालाई सरल र सहज बनाउँछौँ, हाम्रोलाई भन्दा अब राम्रोलाई टिकट दिइन्छ,जित्नेहरुलाई मात्रै टिकट दिइने छ ।’
यसैगरि विगतमा उम्मेदवार चयनमा हुने गरेको ढिलाइका कारण पनि कांग्रेसले घाटा बेहोर्नु परेको भन्दै सभापति पुनले अब यो समस्या पनि नहुने बताए। ‘विगतका कमजोरीहरुलाई सच्याएर चुनावमा अघि बढ्छौँ,’ सभापति पुनले भने ‘कसरी जाने भन्ने बारेमा हामीहरुले चुनावी रणनीति समेत तयार पार्दैछौँ।’
यता यसअघिको निर्वाचनमा पहिलो दलका रुपमा कायम रहेको एमालेले पार्टी विभाजनको असर चुनावमा देखा नपर्ने दाबी गर्छ। माधव कुमार नेपाल समूह विभाजित भएर छुट्टै दल निर्माण गर्दा एमालेको शक्ति कम भएको देखिएपनि एमाले आन्तरिक रुपमा कमजोर नबनेको एमाले प्रदेशको दाबी छ। ‘बाहिरबाट हेर्दा मात्रै एमाले कमजोर भएको होकि भन्ने जस्तो देखिएको हो,’ एमाले प्रदेश सचिव लक्ष्मण आचार्यले भने ‘तर पार्टीको आन्तरिक शक्ति उत्तिकै मजबुत छ।’
उनले अहिले प्रदेशमा नयाँ प्रवेशीहरुको ‘लहर’ चलेको भन्दै एमाले सांगठनिक रुपमा कमजोर नबनेको दाबी गरे। यसैगरि एमालेले चुनाव केन्द्रीत प्रदेश स्तरीय प्रशिक्षण गरिसकेको भन्दै पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरु चुनावी माहोल निर्माणमा लागिसकेको बताए ।
यता अघिल्लो पटक तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले आफ्नो ‘एकल प्रयास’ लाई जीतको आधार देख्दैन। फलतः सत्ता गठबन्धनलाई कायमै राख्न सके मात्रै स्थानीय तहमा आफ्नो उपस्थिती बलियो हुने एकमात्रै विकल्प माओवादीले देखेको छ। तर सत्तागठबन्धनको निर्णायक दल कांग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्न नहुने भन्दै उठेको ठूलो तप्काको आवाजले गठबन्धनको आयूमाथि शंका उब्जाएकै छ। त्यसमाथि एमसीसी प्रकरणमा देखिएको सत्तागठबन्धन भित्रको ध्रुवीकरणले पनि गठबन्धन धरापमा परिरहेकै छ। यो अवस्थामा माओवादीका लागि स्थानीय तहको निर्वाचन अपेक्षित नहुने सम्भावना अधिक रहन्छ।
