तुलसीपुर, ७ असोज । तुलसीपुरस्थित रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा स्वीस सरकारको परियोजना मार्फत नि:शूल्क प्राविधिक शिक्षा पढाइ हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी प्रधानाध्यापक भागवत पौडेलले २४ महिने सूचना प्रविधि (आइटी), मन्टेश्वरी (इएसडिएफ) र इलेक्ट्रिक इन्जिनियरिङ (प्रिडिप्लोमा) तहमा नि:शूल्क शिक्षा प्राप्त गर्न सकिने जानकारी गराउनु भएको हो ।
विद्यालयको चौतर्फी विकासको क्षेत्रमा आफूहरु निरन्तर लागिरहेको र सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै जीवनोपयोगी सिपमूलक निशूल्क शिक्षा प्रदान गर्दै आइरहेको जानकारी गराउनु भयो । उक्त कार्यक्रमका लागि यहीँ असोज १८ गतेसम्म फाराम भर्ने म्याद रहेको पनि प्रअ पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै फाराम भर्नकालागि पासपोर्ट साइजको तीनप्रति फोटो, एसएलसी वा एसइइमा सहभागी भएको प्रमाणपत्र, एसइइमा एनजी आएकाले पनि सहभागी हुन पाउने छन् । साथै विद्यार्थीहरुलाई प्रतिदिन रु एक सयका दरले यातायात खर्च र पोशाक भत्ता एकमुष्ठ ६ हजार प्रदान गर्ने विद्यालयका प्रअ पौडेलले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सूचना प्रविधि (आइटी) विषमा २० कोटा, मन्टेश्वरी विषयमा ३० र इलेक्ट्रिक इन्जिनियरिङमा ३० जनाको कोटा रहेको छ । साथै विद्यार्थीहरुलाई २ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था पनि रहेको उहाँले जानकारी दिनुभयो ।
