बुटवल, ११ असोज । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाडौँ बाहिर पहिलो हो । यहाँ एचएसके तहका परीक्षाहरु चल्ने छन् । चिनमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ ।
सिकाइ केन्द्रको औपचारिक उद्घाटन शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु भएको छ । उक्त अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चिनको हनान विश्वविद्यालयको बीचमा चिनिया भाषा सिकाइ केन्द्र सञ्चालन सम्वन्धमा सहकार्य सम्झौता गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चिन दुई देश बीचको मित्रता अझ सुमधुर बनाउन सिकाइ केन्द्रले योग्दान गर्ने बताउनु भयो । ‘दुई देशबीचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको छु’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘चिनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ ।’
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुर्वणलाल ब्रजाचार्यले विश्वविद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । एचएसके परीक्षाको लागि काठमाडौँ जानुपर्ने बाध्यता अन्यत्य गर्न सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । ‘चिनिया भाषा परीक्षाको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ’ उहाँले भन्नुभयो, ‘लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तरगत एउटा महत्वपूर्ण उपलब्धी हाँसिल भएको छ ।’
बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यले एक बर्ष अगाडी चिनको हनान विश्व विद्यालयसँग भएको सहकार्य सम्झौताअनुसार चिनिया भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिनुभयो । यो उपलब्धीले बौद्ध विश्व विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो । यसैविच विश्व विद्यालयमा शुक्रबारनै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चिनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ ।
चिनको हनान विश्व विद्यालयका अध्यक्ष छ्वाङ क्वाङ्लिनले नेपाल र चिन दुई देश विच सुमधुर सम्वन्ध विस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा नेपाल र चिनका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
