• ट्रेण्डिङ्ग :
काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’

काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’


  • 4.1K
    SHARES
    • आश्विन १२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.4K Views

    काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’

    काठमाडौँ, १२ असोज । काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images

    महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९।७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिनुभयो । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उहाँले बताउनुभयो । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । 

    मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि जानकारी दिनुभयो ।

    उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । आज साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौँमा  १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ । 

    भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा आज साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छभने ७९ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छभने २१ जना बेपत्ता छन् । आज साँझबाट भने मौसममा केही सुधार आएको छ ।


    तेस्रो आँखा