काभ्रेपलाञ्चोक, १४ असोज । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै अलपत्र परेका थिए । अलपत्र परेका यात्रुको आइतबारदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ ।
राजधानीसँग मध्यपहाडी क्षेत्रहुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाको बाढीले कटान गर्दै करिब दुई सय मिटर सडक बगाएको हो । माथि ठूलो भीर भएको र रोशी खोलाको बहावका कारण आइतबारसम्म कुनैपनि स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन । पानीको बहाव घट्दै गएपछि आज भने रोशी क्षेत्रमा अलपत्र यात्रु हिँडेरै गन्तव्यतर्फ जान थालेका छन् ।
बाढीबाट सबैभन्दा बढी रोशी गाउँपालिका प्रभावित भएको छ । सडक सम्पर्क टुटेपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । आज दिउँसोसम्म रोशी क्षेत्रलगायत स्थानमा फसेका चार सय यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । आइतबार तीनवटा हेलिकप्टरमार्फत रोशी गाउँपालिका, कोशीपूर्वस्थित भुम्लु, तेमाल गाउँपालिका र पनौतीको रोशी क्षेत्रबाट घाइते, बिरामीलगायतलाई उद्धार गरिएको उहाँले बताउनुभयो ।
“आज पनि बिहानैदेखि हेलिकप्टरमार्फत यात्रुको उद्धारकार्य जारी छ । हेलिकप्टरले उद्धार गर्न जाँदा राहत सामग्री बोकेर जाने र आउँदा विभिन्न स्थानमा अलपत्र परेका यात्रुलाई उद्धार गरिरहेको छ”, सहायक प्रजिअ पौडेलले भन्नुभयो ।
रोशी खोलाको बाढीले सडक मात्रै बगाएन, स्थानीयको करिब तीन सय रोपनी खेतसमेत कटान गरेको छ । स्थानीय गोविन्द गौतमले बाढीले बस्ती नजिकको झोलुङगे पुलसमेत बगाएको बताउनुभयो । “हामी दैनिक कामको सिलसिलामा नमोबुद्धको भकुण्डे बजार र सदरमुकाम जानुपथ्र्यो, सडक नै बगाएपछि कतैबाट पनि जान सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । शनिबार बिहानैदेखि उर्लेको रोशी खोलाको बाढीले कटान गर्दै उक्त सडक बगाउँदा नजिकका बस्तीका बासिन्दा त्रासमा रहेको उहाँले बताउनुभयो ।
