तुलसीपुर, १९ असोज । तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले सेवा मुखले होइन आत्मैदेखि गर्नुपर्ने बताउनु भएको छ । दिदीघर तथा बाल संरक्षण गृहको वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उपमेयर चौधरीले यस्तो बताउनु भएको हो ।
उहाँले दिदीघर संस्थालाई यहाँसम्म ल्याउनका लागि धेरै चुनौतिहरु पार गर्नुपरेकाे बताउनु भयो । कुनै पनि संस्था चलाउन आर्थिककै समस्या हुने भएकाले धेरै संघर्षका साथ दिदीघर संस्थालाई आफ्नै खुट्टामा उभ्याउने प्रयास गरेको उहाँले बताउनु भयो । अहिले संस्थाको आफ्नै जग्गा, आफ्नै भवन छ । 'खानेकुरा आफै उत्पादन गर्दा संस्था चलाउन सहज भएको छ' उहाँले भन्नुभयो - 'यहाँ आश्रित बालवालिकाहरुलाई राम्रो विद्यालयमा राखेर पढाउन सक्षम भएका छौं ।/
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी उपमेयर चौधरीले केही र कोही पनि नभएका बालवालिकालाई छनौट गरेर राखिएको बताउनु भयो । साथै उनीहरुलाई कक्षा १२ पढ्दासम्म संरक्षण गरिने उहाँले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्ने अतिथिहरुले वुवाआमाकै कारण बालवालिकाहरु अभिभावकविहीन हुन पुगेको बताउनु भएको थियो । बाल अधिकार संरक्षण गर्न सबै लाग्नुपर्ने, केही र कोही नभएका बालवालिकाहरुको लागि खोलिएका संस्थाहरु लोप हुँदै गएको र समाजमा मान्छे भन्दा पनि मानवता खोज्नुपर्ने अवस्था आएको उहाँहरुले बताउनु भएको थियो । साथै दिदीघर संस्था अभिभावकविहीन बालवालिकाहरुका लागि जीवनको बाटो देखाउने जिवन्त संस्था भएको बताउनु भएको थियो ।
संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सचिव माया चौधरीले वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य बसन्ता केसी, तुलसीपुर वडा ५ की वडासदस्य लालमति भण्डारी, तुलसीपुर ६ की वडासदस्य देवी पोख्रेल, किसान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष तुलसा पोख्रेल, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपाने, महिला बालवालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, पत्रकार दिपक बोहरा, तुलसीपुर स्वास्थ्य शाखाका विष्णु गिरीलगायतले बोल्नु भएको थियो ।
संस्थाकी उपाध्यक्ष सम्झना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी कर्मचारी संगिता चौधरीले गर्नुभएको थियो ।
२०६१ सालमा स्थापना भएको दिदीघर संस्थामा हाल १२ जना बालिका र ९ जना बालक गरी जम्मा २१ जना रहेका छन् ।
