दस बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट एमाले उपाध्यक्ष भीम रावलले एमालेको आसन्न १० औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उहाँले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । एमाले अध्यक्ष ओलीकै पुरानो अभिव्यक्तिलाई उद्धृत गर्दै अध्यक्षमा आफूलाई सघाउन ओलीलाई आग्रहसमेत गर्नु भयो ।
‘अध्यक्ष ज्यूले अब म पार्टीमा दोहोरिन्न, अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको हो’ रावलले भन्नुभयो— ‘क्षमता र उमेरका हिसाबले पनि म अध्यक्षका लागि सक्षम छु, अतः अध्यक्ष ज्यू तथा एमालेका अन्य नेतालाई मलाई अध्यक्षमा सघाउन आग्रह गर्दछु ।’
रावलले आफ्नो उम्मेदवारीलाई एमालेमा विद्यमान समस्या समाधानको उचित निकासका रुपमा अथ्र्याउनु भयो ।
एमालेका नेता रावलले भन्नुभयो— ‘नेकपा खारेजीपछि एमालेभित्र धेरै समस्या देखिएका र ती समस्या समाधान गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाइलाई गरिएको बेवास्ताले नेतृत्व पङ्क्ति यी समस्या समाधानका लागि असक्षम वा अनिच्छुक देखिएको प्रष्ट भइसकेको छ ।’
‘पार्टीभित्रको यो शैलीले आन्तरिक एकता मजवुत बन्न सक्दैन,’ रावलले भन्नुभयो— ‘यसर्थ यी समस्या समाधान गरेर पार्टीभित्रको मजबुत एकताका लागि मेरो उम्मेदवारी हो ।’
अध्यक्ष पदको उम्मेदवारीलाई अध्यक्ष ओलीसँगको ‘बार्गेनिङ प्वाइन्ट’ हो कि भन्ने पत्रकारहरुको जिज्ञासामा नेता रावलले आफू आफ्नो उम्मेदवारीबाट पछि नहट्ने अडानसमेत व्यक्त गर्नुभयो ।
उहाँले ‘पार्टीका हरेक सदस्य उम्मेदवार बन्न पाउने पार्टीको वैधानिक नीति छ, यही नीतिलाई टेकेर मैले उम्मेदवारी घोषणा गरेको हुँ, यो कसैप्रति आग्रह÷ पूर्वाग्रहको कुरा र बार्गेनिङका लागि पनि होइन’ भन्नुभयो ।
यसैगरि उहाँले पार्टी केन्द्रीय कार्यालयमा आफूलाई उम्मेदवारी घोषणा गर्न नदिइएको प्रति असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।
‘म एमालेको उपाध्यक्ष हुँ, यसर्थ मैले मेरो उम्मेदवारी घोषणा गर्न पनि पार्टी कार्यालयबाटै दिनुपथ्र्यो,’ रावलले भन्नुुभयो, ‘तर, महासचिवले महाधिवेशनको तयारीका लागि सबै कोठा भरिभराउ भइसकेको छन्, ठाउँ छैन भन्नुभयो ।’
एमालेको १० औँ महाधिवेशन १० मंसिरदेखि चितवनमा हुँदैछ । एमालेभित्रको एकता निर्माण गर्न बनेको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावलले एमाले अध्यक्ष ओलीबिरुद्ध असन्तुष्टि जनाउँदै आउनुभएको छ ।
उहाँले यहि सहमति कार्यान्वयन नभएको भन्दै यो सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजकबाट राजीनामा समेत दिइसक्नु भएको छ ।
