गठबन्धन जोगाउँदै ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी पारित गर्न सत्तारुढ दल सहमत

गठबन्धन जोगाउँदै ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी पारित गर्न सत्तारुढ दल सहमत


  • 8.7K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    गठबन्धन जोगाउँदै ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी पारित गर्न सत्तारुढ दल सहमत

    काठमाडौं, १५ फागुन। लामो समयदेखि संसदमा दर्ता भएर विचाराधिन रहेको अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट पारित हुने सम्भावना बढेको छ। सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदन गर्ने सहमति भएपछि सदनबाट एमसीसी पास हुने करिव पक्काजस्तै भएकाे हो ।  

    images

    विवादीत एमसीसीका विषयमा गठबन्धनका नेताहरु सहमति नजिक पुगेसँगै गठबन्धन भत्कने खतरासमेत तत्कालका लागि टरेको छ। एमसीसी सम्झौतालाई विकास अनुदानका रुपमा स्वीकार गर्ने र यस विषयमा उठेका सवालहरु सम्बोधन गर्न व्याख्यात्मक टिप्पणीसमेतसँगै लैजाने सहमत भएको जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। उनले तेस्राे आँखासँग  भने, ‘एमसीसी सम्झौतालाई नितान्त विकास सहयोगका रुपमा लिने र व्याख्यात्मक टिप्पणी सँगै लौजाने विषयमा गठबन्धनमा मोटामोटी सहमति भएको छ।’ उनले यस अघि भने, ‘यद्यपी हाम्रो पार्टीको बैठक बसेर आधिकारिक निर्णय आउन बाँकी नै छ ।’ एमसीसी अघि बढाउने विषयमा फरक मत राख्दै आएका नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र समेत सहमतिमा आएका छन्।

    ‘एमसीसी सम्झौतामा उठेका राष्ट्रियताको विषयमा हाम्रो अहिलेपनि असहमति हो,’ नेकपा एसका नेता मेटमणि चौधरीले भने,‘तर गठबन्धनलाई पनि जोगाउँदै एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित अघि बढाउने कुरामा गठबन्धनमा सहमति भएको छ।’ पार्टीको स्थायी कमिटी बैठकमा गठबन्धनबीच भएको सहमति पेश हुने र त्यही अनुसार निर्णय गरेर जाने सम्भावना बढेको उनले बताए। उनकाअनुसार नेकपा एसको आजै बैठकबसी निर्णय हुने छ।  

    गठबन्धनमा आवद्ध दलहरूमध्ये नेपाली कांग्रेसले प्रारम्भदेखि नै एमसीसी पारित हुनुपर्ने अडानमा थियो। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षमा रहँदा पनि एमसीसीको पक्षमा उभिएको उदाहरण दिँदै एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएका छन्। एमसीसीबारे अन्तरविरोध रहँदै आएको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेत कांग्रेसले सहमतिमा ल्याएको छ। तर माओवादी केन्द्र र नेकपा एसका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा छन्। उनीहरुले सडकमै निस्कीएर विरोध गरिरहेका छन्।  

    सरकारमा बसेर सरकारलेनै संसदमा पेश गरेको एजेण्डामा विरोध गरेको भन्दै उनीहरुको टिप्पणी हुँदै आएको छ। एमसीसीमा एकै ठाउँमा उभिन नसक्दा गठबन्धन टुट्ने खतरा बढेपछि माओवादी र समाजवादीले विवादका बुँदाबारे व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्न सहमत भएको नेताहरुले बताएका छन्।  

    माओवादी र नेकपा एसले औपचारिक रुपमै एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी पारित गरेर जान सकिने प्रस्ताव ल्याएका थिए। कांग्रेस महामन्त्री थापाले एमसीसीबारे जनस्तरमा उठाइएका प्रश्नहरूलाई प्रष्ट पार्ने गरी एमसीसीसँगै ‘व्याख्यात्मक टिप्पणी’ गर्न सकिने प्रस्ताव ल्याएपछि दलहरुले यसलाई विकल्पको बाटोको रुपमा लिएर अघि बढ्ने निर्णयमा पुगेका हुन्।


    जीवन शर्मा
    लेखकबाट थप