अमिलिया, ०२ कात्तिक । 'दसैंह्या थारु सख्या नाच' सम्पन्न भएको छ । लमही नगरपालिका वडा ९ अमिलिया दाङमा दसैंको पहिलोदिन घटस्थापनादेखि सुरु भएको 'दसैंह्या सख्या थारु नाच' सम्पन्न भएको हो । वडा सदस्यद्वय अमर वली, ईश्वरा कुमारी पछाई, देशबन्ध्या गुरुवा चुलुराम दहित (जागेश्वर), अमिलिया भुइँह्यार थानका महटावाँ जङ्गबहादुर चौधरीको उपस्थितिमा नाच समापन गरिएको थियो । घटस्थापनाको दिन वडा ९ का वडा अध्यक्ष भेषबहादुर केसी (रमेश) वडासदस्यहरु पार्वती बिक, ईश्वरा कुमारी पछाई, गणेश कुमाल र अमर वली देशबन्ध्या गुरुवा चुलुराम चाैधरी र महटावाँले भुइँह्यारमा पुजा गरी नाचको उद्घाटन गर्नु भएको थियो ।
उक्त अवसरमा गायत्री परिवार दाङका कोषाध्यक्ष श्रीराम दहितले लोपोन्मुख पौराणिक थारु कलासंस्कृति संरक्षण सम्बर्द्धन र सदुपयोग गर्नु इतिहास विद, जनप्रतिनिधि, महटावाँ, गुरुवालगायत सबैको साझा दायित्व रहेको बताउनु भयो । साथै दसैंको थारु नाचलाई सफल बनाउन महत्वपूर्ण भूमिका निभाउने महटावाँ, थारु अगुवा, र जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । त्यस्तै लमही वडा ९ का वडाअध्यक्ष भेषबहादुर केसीले थारु समुदायको संस्कृति संरक्षण, सम्बर्द्धन गर्न वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै लोप हुने अवस्थामा पुगेका संस्कृति जगेर्ना गर्न सबैको साझा दायित्व रहेको बताउनु भयो ।
महिला वडा सदस्य इश्वरा कुमारी पछाईले सांस्कृतिक विविधतामा सामाजिक एकता झल्काउन आफूहरुले एक दिन भए पनि थारु समुदायको पहिरनमा नाचेर सहभागिता जनाउँदा थारु युवाहरुमा उत्साह जाग्ने बताउनु भयो । त्यस्तै वडासदस्य अमर वली, महटावाँ जङ्गबहादुर चौधरीले बोल्नु भएको थियो ।
महटावाँ जङ्गबहादु चौधरीले महटावाँको नेतृत्व सम्हालेसँगै एक कट्ठा जमिन भूइह्यार थानलाई प्रदान गरेको र वडा कार्यालयबाट विनियोजित बजेटबाट भुइह्याँर थान निर्माण भएको शिवशक्ति टोल विकासका अध्यक्ष किरिमलाल चौधरीले जानकारी दिनुभयो ।
त्यस्तैगरी नाचमा छविलाल चौधरी, किरिमलाल चौधरी, लालबिर चौधरी मन्डर्या रहनुभएको थियो भने सुरक्षा चौधरी मोरहिन्या, संगिता चौधरी पछगिनियाको भूमिकामा रहनु भएको थियो । दसैंश्याँ गीत प्रशिक्षक राजकुमारी चौधरी, रामकुमारी चौधरी र नाच व्यवस्थापनमा शिवशक्ती सामुदायिक वनका अध्यक्ष रेशम डाँगी, गायत्री सामुदायिक वनका अध्यक्ष कलसी चौधरी, इलाका प्रहरी कार्यालय अमिलिया रहेका थिए ।
श्रीराम दहित
