तुलसीपुर, ६ कात्तिक । तुलसीपुर वडा ६ स्थित अपाङ्ग समाज सुधार केन्द्रलाई तुलसीपुर नगर जेसिजले सहयोग गरेको छ । तुलसीपुर नगर नेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १८ का वडाध्यक्ष माधव वलीको प्रमुख आतिथ्यमा मंगलबार सहयोग हस्तान्तरण गरिएको हो । तुलसीपुर नगर जेसिजका संस्थापक अध्यक्ष दिपेन्द्र चापागाइँको सौजन्यमा प्राथमिक उपचार बक्स, दुई वटा ह्वील चियर, एक थान तातो चिसो पानी फिल्टर, तीन बोरा चामललगायत खाने तेल, नुन, दाल सहयोग गरिएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात)को विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक भुवन वलीले स्वागत मन्तव्य दिनु भएको थियो । उक्त अवसरमा प्रवक्ता एवं वडाध्यक्ष माधव वलीले अपाङ्गता भएका व्यक्तिको पीडा सपाङ्गले बुझ्न नसकेको बताउनु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको सेवामा नै समर्पित भएकोमा संस्थापक अध्यक्ष लगायत अध्यक्षहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै संस्थालाई गर्नुपर्ने सहयोगमा उपमहानगर र आफ्नो वडाबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा तुलसीपुर वडा ६ का वडाध्यक्ष दुजमान भण्डारीले जेसिजले पुलको काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभएको थियो । जेसिजले गरेका उदाहरणीय कार्यको चर्चा गर्दै आजको सहयोग पुण्यको काम भएको बताउनु भयो । साथै उहाँले अपाङ्गता व्यक्तिहरुका लागि बजेट विनियोजन गरी उचित कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष मोहन स्वीकार, अपाङ्ग समाज सुधारका संस्थापक अध्यक्ष इश्वरी प्रसाद खड्का, मुद्रण संघका उपाध्यक्ष शालिकराम बस्नेत, अपाङ्ग समाज सुधारका अध्यक्ष हुमाकान्त कँडेललगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालम जेसिजका महासचिव कमल प्रसाद शर्माले गर्नुभएको थियो ।
