तुलसीपुर, ११ कार्तिक । ज्ञान ज्योति फाउन्डेसन रनिङशिल्ड प्रतियोगिता २०८१ आज आइतबारदेखि सुरू भएको छ । ज्ञान ज्योति फाउण्डेसन अन्तर्गत रहेका विद्यालयहरुको सहभागिता रहने रनिङशिल्ड प्रतियोगिताको उद्घाटन भएको हो ।
अमृत एकेडेमी तुलसीपुर-१९ बिजौरीको आयोजनामा आजदेखि बेलझुण्डी रङ्गशालामा सुरु भएको प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा एथलेटिक्सका सबै खेलहरु हुने खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो । अमृत एकेडेमी बिजौरीका प्रिन्सिपल प्रताप सेजवालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगीले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले दक्ष खेलाडीहरु उत्पादनमा टेवा पुर्याउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुग्न उनीहरुलाई मद्दत मिल्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टिका बहादुर जिसीले फाउन्डेसनले विद्यार्थीहरुको पठन पाठन मात्र नभई चौतर्फि विकासका लागि वार्षिक रुपमा खेलकुद प्रतियोगिताको आयोजना गर्ने बताउनुभयो ।
फाउन्डेसनमा १४ विद्यालय आवद्ध रहेको भन्दै विद्यार्थीहरुलाई पढाइ सँगसंगै शारीरिक तथा मानसिक रुपमा सबल र सक्षम बनाउन अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउने बताउनुभयो ।
अमृत एकेडेमीका भाईस प्रिन्सिपल नारायण अधिकारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ज्ञान ज्योति कलेजका उपप्राध्यापक सोमराज बस्नेतले गर्नु भएको थियो ।
