रोल्पा, १३ कात्तिक। रोल्पामा खोलाले बगाउँदा बेपत्ता भएका बालक मृत फेला परेका छन् । जिल्लाको माडी गाउँपालिका वडा नम्बर ६ लाप्चुङ भर्लेवाङ स्थित माडी खोलाले बगाएर बेपत्ता बालक मृत फेला परेको प्रहरीले जनाएको छ ।
खोलाले बगाउँदा मृत्यु भएका बालक माडी गाउँपालिका वडा नम्बर ६ अमराईबोटका नरेश विकका ६ वर्षिय छोरा निशान्त विक रहेको रोल्पा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो। उहाँकाअनुसार खोलाको किनारमा खेल्ने क्रममा विकलाई खोलाले बगाएको हो । खोलाले बगाउँदा मृत्यु भएका बालकको साथमा देविराज विकका ५ वर्षिय छोरा बिजय विक पनि रहेको र उहाँ सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले विकको शव माडीचौर नजिकै खोला किनारमा फेला पारेको जनाएको छ । घटना मंगलबार दिउँसो १२ बजेको समयमा भएको पाइएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारी र प्रहरी चौकी माडीचौरबाट प्रहरी सहायक निरीक्षक केशरबहादुर घर्ती मगरको नेतृत्वमा स्थानीयको साथमा प्रहरीको टोली घटना स्थलमा पुगेको थियो।
