दाङ, १९ कात्तिक । बाँकेमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का सरदरलाइनका २६ वर्षीय अमनकुमार कसौधन रहनु भएको छ ।
दुर्घटनामा नेपालगञ्ज—४ का १८ वर्षीय रोशन सेख गम्भीर घाइते हुनुहुन्छ । सेखलाई नेपालगञ्जको उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नवीन चापागाँइले बताउनु भयो ।
नेपालगञ्ज— ४ बसपार्कबाट बाइपास रोड हुँदै गणेशपुरतर्फ जाँदै गरेको मृतक कसौधनले चलाएको भे ६ प ८०२ नम्बरको मोटरसाइकल र घाइते सेखले चलाएको बिपरित दिसातर्फ आउँदै गरेको भे ३ प ७१७१ नम्बरको मोटरसाइकल आइतरबार बेलुकी ८ बजेतिर एक आपसमा ठोक्किएका थिए।
दुर्घटना लगत्तै घाइतेलाई नेपालगञ्ज नर्सिङहोम पुर्याइएको थियो । चिकित्सकले कसौधनलाई तत्कालै मृत घोषणा गरेका थिए।
दुर्घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
