नवलपरासी २० कात्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गैंडाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ ।
मंगलबार दिउँसो पौने १ बजे कावासोती नगरपालिका-७ कृष्णसार सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा एक जना वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले जानकारी दिनुभयो । वनमा गाईवस्तु चराउने क्रममा ६५ वर्षीय सुकबहादुर बोटेमाथि गैंडाले आक्रमण गरेको हो ।
आक्रमणबाट उनको छातीमा गम्भीर चोट लागेको थियो । उपचारको लागि कालिगण्डकी अस्पताल पुर्याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
