दाङ २२ कात्तिक । वडा प्रहरी कार्यालय लमहीले हातहतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान साढे ६ बजेको समयमा लमही नगरपालिका वडा नं. ३ बनगाँउस्थित हरियालीटोल निवासी ४० वर्षीय गणेश कुमाललाई प्रहरीले उनकै घरमा अवैध रुपमा हातहतियार तथा खरखजनाहरु लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा खटिएको प्रहरी टोलीले कुमालको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा हातहतियार तथा खरखजानाहरु फेला पारेको हो ।
कुमालको घरबाट प्रहरीले खाली बट सिलिङसहितको भरुवा बन्दुक एक थान, चालु अवस्थामा रहेको सिलिङ सहितको भरुवा बन्दुकको नाल एक थान, बेचालु अवस्थाको भरुवा बन्दुकको काठको बट एक थान, बेचालु अवस्थाको भरुवा बन्दुकको नाल एक थान, फलामको भरुवा बन्दुकको नाल बनाउन प्रयोग हुने फलामको पाईप एक थान, कालो झोला भित्र लुकाई छिपाई राखेको भरुवा बन्दुकमा प्रयोग हुने सिल्भरको बट्टामा रहेको ११९ ग्राम ३६० मिलिग्राम भएको कालो रङको बारुद जस्तो देखिने धुलो पदार्थ , भरुवा बन्दुकमा प्रयोग हुने सिल्भरको बट्टामा रहेको ९२ ग्राम ८७० मिलिग्राम भएको कालो रङको बारुद जस्तो देखिने धुलो पदार्थ र प्लाष्टिकमा रहेको १३५ थान छर्रा, १८ थान केप, रोल केप ४ थान, ठुलो गोली २९ र भरुवा बन्दुकमा प्रयोग हुने सुतीको लत्ता २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
