काठमाडौं, १८ फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लप र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका श्रेष्ठ र विप्लपबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बुधबार बिहान श्रेष्ठलाई भेट्न विप्लप श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेकोले राष्ट्रवादको पक्षमा रहेका सबै एकजुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।
एमसीसी अनुमोदनको विषयलाई लिएर नारायणकाजी श्रेष्ठले असन्तोष प्रकट गरेका थिए । त्पसपछि श्रेष्ठलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उनको निवास पुगेको थिए । भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए । तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाऔ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।
एमसीसी अनुमोदन भएपछि माओवादी केन्द्रका श्रेष्ठ सहितका नेताहरुले पार्टीको निर्णयप्रति तिव्र बिरोध गरेका छन् ।
