गण्डकी, २५ कात्तिक । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने छन् ।
समितिले आज एक सूचना जारी गदै इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची– १ मा उल्लेख गरिएको ढाँचामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेस गर्न आह्वान गरेको छ ।
पोखरा विश्वविद्यालयको उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्रा.डा. प्रेमनारायण अर्यालको चार वर्षे कार्यकाल समाप्त भएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको छ ।
उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।
दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
अनलाइन माध्यमबाट दरखास्त पेस गर्ने व्यक्तिले मन्त्रालयको वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सक्नेछन् ।
