काठमाडौँ, २६ कात्तिक । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ ।
सोमवार महासंघले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी गर्न लागेको जानकारी दिइएको हो ।
महासंघले विद्युत तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताउनुभयो । उहाँले आम उपभोक्तालाई नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ को नाराका साथ प्रदर्शनी गर्न लागेको बताउनु भएको छ ।
उहाँले प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिहरूबारे सूचना आदान–प्रदान गरिने बताउनुभयो । उहाँले उद्योगी, व्यवसायी एवं उद्यमीहरू माझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरू प्रदर्शनी अवधिभर सञ्चालन गरिने बताउनुभयो । उहाँले प्रदर्शनीमा २८ वटा स्टलहरू र हल बाहिर पनि २६ स्टलहरू रहने बताउनु भएको छ ।
उहाँले प्रदर्शनीमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिने बताउनुभयो ।
उहाँले प्रदर्शनीमा स्वदेशी उत्पादन लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अस्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरू प्रदर्शनमा रहने बताउनुभयो । उहाँले ५० हजार भन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।
