रुकुमपश्चिम ४ मंसिर । रुकुमपश्चिममा घरायसी विवाद हुँदा एक महिलाले चिर्पट प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका वडा नं. –२ विजयश्वरीकी ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान मधु कुमालको हत्या गरेकी हुन् ।
मंगलबार बिहान दीपाले श्रीमानको टाउकोमा चिर्पट प्रहार गर्दा मधुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए । सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ । शव भने परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
