बालेन शाह एक चर्चित र्यापर हुन् । र्यापर बालेनको नामले चिनिने उनी स्ट्रकचरल इन्जिनियरसमेत हुन्। चर्चित र्यापर तथा स्ट्रकचरल इन्जिनियर शाहले काठमाडौं महानगरको मेयर पदमा निर्वाचन लड्ने निधो गरेपछि एकाएक झनै बढी चर्चामा आए।
सामाजिक सञ्जाल फेसबुकमा २०७८ मंसिर २९ गते बुधबार बालेनले स्टाटस लेखेपछि चर्चामा मात्र रहेनन्। नेपालका मेन स्ट्रिमका अनलाइन पत्रिका, टेलिभिजनले पनि महत्वका साथ उनको स्टाटसको समाचार बनाएर प्रकाशन प्रसारण गरे। अहिलेसम्म पनि उनी चर्चाको शिखरमा रहेका छन्।
३१ वर्षका बालेनले फेसबुक स्टाटसमा लेखेका थिए, ‘अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफै बनाउछौं।’ साथमा उनले ह्यास्ट्याग गर्दै ‘बालेन फर मेयर’ भन्दै आफू आगामी निर्वाचनमा काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका थिए। सो समयदेखि उनी चर्चाको शिखरमा छन्।
पार्टीबाट निर्वाचनमा जितेको व्यक्तिले पार्टीकोलागि कमाई गर्नु पर्ने, आफ्नो कार्यकर्ताको लागि काम गर्नु पर्ने भएका सबै स्थानीय तहमा स्वतन्त्र व्यक्ति चुनिनु पर्ने उनको भनाई छ। स्वतन्त्र व्यक्तिले स्थानीय तहमा नेतृत्व गरेको खण्डमा उसले आफूले चाहेको र बनाएको योजना अनुरुप काम गर्न पाउने भएकोले स्वतन्त्र व्यक्तिले मात्र स्थानीय तहमा नेतृत्व गर्न पर्ने उनको मान्यता रहेको छ।
आफ्नो पार्टीमा ल्याउन धेरै पार्टीहरुले आग्रह गरेको बताउने बालेनले आफू कुनै पनि पार्टीमा नलाग्ने बताउँदै आएका छन्। उनले भने, ‘कुनै पार्टीमा लागेपछि भोली त्यस पार्टीको लागि काम गर्नु पर्छ। पार्टीको दबाबमा आफूले आफ्नो योजना अनुसार काम गर्न सकिदैन। कसैको दबाबमा नपरी काम गर्नको लागि मैले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको हो।’ बालेनले आफूले निर्वाचन जितेको खण्डमा के के गर्ने, कसरी विकास गर्ने, कुन क्षेत्रलाई प्राथमिकता दिने भनेर समस्या पहिचान गरेर त्यसको समाधानका योजनाहरुसमेत बनाएका छन्।
बालेनको लागि काठमाडौंको मेयरमा निर्वाचित हुन सजिलो भने छैन। पुराना राजनैतिक दलका बलिया संगठन र राजनीतिकरणको चिरफार गर्दै उनले आफ्नो स्थान कायम गर्न पर्ने छ। पहिले काठमाडौंको मेयरमा उठ्ने घोषणा गर्दा मानिसहरुले पब्लिसिटिको लागि भन्यो भनेर पनि टिप्पणी गर्ने गरेको बालेन बताउँछन्।
नेपाल सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ। विभिन्न राजनैतिक दलहरु पनि आ–आफ्नो ठाउँबाट प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा निर्वाचनको तयारीमा लागि सकेका छन्। विशेषगरी ठूला पार्टी कै वर्चस्व रहेको काठमाडौंमा र्यापर बालेन आउन सक्ने अवस्था छ छैन ? उनले कसरी चुनावी तयारी गरिरहेका छन् ? तेस्रो आँखाका लागि पदम भुजेलले बालेनसँग गरेको कुराकानीको सम्पादित अंशः
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको छ। विभिन्न दलहरु निर्वाचनको तयारीमा लागिसकेका छन्, तपाईले निर्वाचनको तयारी कसरी गरिरहनु भएको छ ?
हामीले निर्वाचको लागि भनेर टोलहरुमा, चोकहरुमा, कलेजहरुमा र सामाजिक सञ्जाल मार्फत विशेष गरी युवा वर्गलाई सचेत गराएर हाम्रो योजनाहरु जानकारी गराइ रहेका छौं। स्थानीय तहहरु राजनीति गर्ने ठाउँ होइन, यो सेवा दिने र काम गर्ने ठाउँ हो भनेर बुझाउने काम गरिरहेका छौं। एउटा राजनीतिक दलको सदस्यले स्थानीय तहको नेतृत्व गर्दा र एउटा स्वतन्त्र व्यक्तिले नेतृत्व गर्दाको फरकको बारेमा पनि आम नागरिकलाई जानकारी गराएका छौं।
निर्वाचनको तयारीमा लागिरहँदा विशेषगरी कसरी नागरिकलाई विश्वासमा ल्याउने तयारीमा हुनुहुन्छ त ?
नागरिकको दिमागमा जग्गा बनाएर रहेको पार्टीगत बिचारलाई मुख्यतः हामीले पखाल्ने कोशिस गरिरहेका छौं । स्थानीय तहमा पार्टीलाई जिताउने भन्दा पनि यहाँ राम्रो मान्छे जिताउनुपर्छ भन्ने कुराहरु बताउँदै आइरहेका छौं। विशेष फोकस युवा पुस्ताहरुमा रहे पनि अन्य उमेर समूहलाई पनि हामी नेतृत्वमा आउँदाको फरक र राजनीतिक दलको सदस्य आउँदाको फरक बारे बुझाएका छौं। हामीले आफ्नो काठमाडौंको विकास र व्यवस्थापन गर्न बनाएका योजनाहरु सबैलाई जानकारी गराउँदै आएका छौं।
गीतसंगीत र इन्जिनियर क्षेत्रमा रमाइरहेको तपाई यो राजनीतिक क्षेत्रमा आउने कसरी सोच्नु भयो ? तपाईले उम्मेदवारी घोषणा गरेको क्षेत्रमा अपमान र गालीको वर्षा हुन्छ यस बारे कहिल्यै सोच्नु भएको छ ?
स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन । यो भनेको काम गर्ने र सेवा प्रदान गर्ने ठाउँ हो । एउटा पार्टीको मानिस नेतृत्वमा आाएपछि उसले पार्टीको लागि, कार्यकर्ताको लागि काम गर्नुपर्ने हुन्छ । तर, एउटा स्वतन्त्र व्यक्ति नेतृत्वमा आयो भने उसले आफ्नो योजना अनुसार कसैको दबाब र रोकतोक बिना काम गर्न पाउँछ । तसर्थ यसलाई मैले राजनीतिमा लागेको भन्दा पनि सेवा गर्ने र सकेजति काम गर्ने रुपमा हेरेको छु ।
स्वतन्त्र उठ्ने भनेर भन्नु भएको छ, मेयरमा तपाई उठेपछि तपाई कै समूहमा उपमेयर, वडाअध्यक्ष र सदस्यहरु उठ्ने योजना छ कि कस्तो समीकरण बनाउनु भएको छ ?
अहिलेसम्म मेयरमा मात्र उम्मेदवारी दिने र अन्य तहमा अरु नै पार्टीको व्यक्ति भएनी फरक नपर्ने भन्ने सोचाईमा हामी लागिरहेका छौं। हामीले समूह वा प्यानल तथा कुनै पार्टीमा लागेर उम्मेदवारी दिने सोचेका छैनौं। मेयर पदमा मात्र हाम्रो उम्मेदवारी रहने अहिलेसम्मको योजना रहेको छ।
तपाईले आगामी निर्वाचनमा काठमाडौंको मेयरमा उठ्छु भनेर घोषणा गर्दै गर्दा आम जनताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ? समस्या र मागहरु कसरी राखेका छन् जनताले ?
पहिले विकल्पको अभावमा मानिसहरुले भोट नै नहाल्ने अवस्था बनेको थियो। हामीले विकल्प दिएका छौं। काठमाडौंको विशेष समस्या भनेको धुलोहिलो सडक, पानी र ट्राफिक व्यवस्था रहेको छ। आम जनताले पनि यही समस्या राख्ने गरेका छन्। विशेषगरी काठमाडौंमा वीना याेजना निमार्णकार्य अघि बढाउँदा यो शहर अव्यवस्थित भएको छ। यहाँ व्यवस्थित सिभिल इन्जिनियरको खाँचो छ । आम जनताबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको छु।
केही ठूला पार्टीको प्रभाव रहेको काठमाडौं क्षेत्रमा तपाईले निर्वाचन जित्न कति कठिन छ ? निर्वाचमा तपाईले जित्नु हुन्छ त ?
सजिलो त छैन तर हामी आशावादी छौं। विकल्पको अभावनमा काठमाडौंको ७० हजार जनताले कसैलाई पनि भोट नहालेको अवस्था थियो भने जित्नेले ६५ हजार मत ल्याएर जितेको थियो। विशेषगरी हामीले त्यो भोट नहाल्ने ७० हजार जनतालाई विकल्प दिएका छौं। त्यस्तै अन्यत्र भोट हालेकाहरुबाट पनि हामीले भोट पाउँछौं तसर्थ हाम्रो जित शतप्रतिशत सुनिश्चित छ।
अन्तमा तपाईले काठमाडौंको मेयरमा उम्मेदवारी दिएको कारणले एक उम्मेदवारको कोणबाट र एक स्वतन्त्र युवाको आँखाबाट आम जनतालाई र मतदातालाई के भन्न चाहानुहुन्छ ?
यो भन्दा अगाडि विकल्प पाउनु भएन होला त्यही भएर केही नगरे पनि बारम्बार सोही पार्टीलाई सोही व्यक्तिलाई भोट हाल्नु भयो होला। तर अहिले हामीले विकल्प दिएका छौं। एकपटक पार्टी र हाम्रो मान्छे भन्ने दृष्टिकोणबाट माथी उठेर काठमाडौं बनाउने तर्फ लाग्नुस्। मुख्यत काठमाडौंमा सिभिल इन्जिनियरीङको अभावमा यो अव्यवस्थित बनेको हो। म सँग सो सम्बन्धि ज्ञान र सिप छ । यसलाई हामी व्यवस्थित बनाउँछौं र विकास गर्छौ। सबैले अब काठमाडौंलाई बनाउने बेला आएको छ।
पदम भुजेल
