एमसीसीविरुद्ध मोर्चा कस्दै ‘वाम’ नेताहरु

एमसीसीविरुद्ध मोर्चा कस्दै ‘वाम’ नेताहरु


  • 9.8K
    SHARES
    • फाल्गुण १९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    एमसीसीविरुद्ध मोर्चा कस्दै ‘वाम’ नेताहरु

    काठमाडौं, १९ फागुन। व्यवस्थापिका संसदबाट पारित भएको अमेरिकी सहायता विकास परियोजना एमसीसी कार्यन्वायन गर्ने चरणमा अघि बढेको छ। यस विरुद्ध नेपालका साना कम्युनिष्ट दलहरुसँगै केही कम्यूनिष्ट नेताहरु मोर्चा कस्दै अघि बढ्ने तयारीमा छन्।

    images

    एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै निरन्तर विरोधमा उत्रिएका ‘वाम’ नेताहरु विस्तारै गोलबद्ध हुँदैछन्। सरकारले संसदबाट अनुमोदन गरेर पठाइसकेको एमसीसीकाविरुद्धमा सरकार साझेदार दलकै नेताहरुसमेत रहेका हुन्। एमसीसी सम्झौता नै खारेज गर्नुपर्ने एजेण्डा बोकेर सडकदेखि सदनसम्म विरोध जनाएका ती नेताहरु सदनबाट अनुमोदन भएपछि पनि विरोधमै छन्। निरन्तर आन्दोलन गर्दै आएका साना कम्युनिष्ट पार्टी र मोर्चा शुक्रबार जनसभामा गर्ने तयारीमा जुटेका छन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस बाहेक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले एमसीसी पारित नगर्ने पक्षमा निर्णय गरेका थिए।

    अन्ततः जनमोर्चा बाहेक सरकारमा रहेका चारवटै दल व्यख्यात्मक टिप्पणीसहित एमसीसी सदनबाट पास गर्न राजी भए।  गठबन्धन तोडिने संकेत देखेपछि उनीहरु पनि कांग्रेसको लाइनमा आएका थिए। नेपाली कांग्रेस भने यो विषयमा सुरुदेखिनै क्लीयर थियो । एमसीसी जनताको हितमा अमेरिकाले सहयोग गरेको विकास परियोजना भएकाले कुनै हातलमा पारित गर्नुपर्ने पक्षमा उभिएको कांग्रेसभित्र मतमेद देखिएन्। तर अन्तिम चरणमा आएर एमसीसी पारित गर्ने सहमतिमा पुगेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा आन्तरिक समस्या देखा परेको छ। सत्तागठबन्धनमा सामेल जनमोर्चाले एमसीसी पारित भएसँगै गठबन्धनमा नरहेको घोषणा गरिसकेको छ।

    एमसीसी प्रस्तावको छलफलमा समेत भाग नलिएको एमालेलेसमेत एमसीसी स्वीकार गरेर अघि बढाउनुपर्ने बताएको छ। यद्यपी एमालेका नेता भीमबहादुर रावल यसको खिलापमा छन्। त्यस्तै विप्लव समूहको नेकपा,  राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, र नेकपा (क्रान्तिकारी माओवादी) सहितका साना कम्युनिष्ट घटकहरु एमसीसीको विरुद्धमा मोर्चावन्दी गर्न थालेका छन्। 
    एमसीसी विरुद्धको आन्दोलनमा रहेका साना वाम दलकासाथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले शुक्रबार खुल्ला मञ्चबाट विरोध गर्ने तयारी गरेका छन्। सभालाई पूर्वप्रधानमन्त्री एवम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले समेत सभामा समेत सम्बोधन गर्ने कार्यक्रम तय गरेका छन्। त्यस्तै हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्ताका रुपमा प्रस्तुत हुनेछन्।

    एमसीसीकै कारण ठूला र सत्ताधारी वाम दलभित्रीको आन्तरिक खटपटले पार्टी फुटको संघारउन्मुख भएको आकलन गर्न थालिएको छ। नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले त पुरानो एकता केन्द्र व्युताउने चर्चा नेपाली राजनीतिमा सुरु भएरहेको छ। उनले पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आफू निकटका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । माओवादीभित्र श्रेष्ठको पक्षमा दश प्रतिशत नेताहरु रहेको दावी गरेका छन्।  कतिपय राजनीतिक विश्लेषकहरु एमसीसीको विपक्षमा उभिएका झनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीमबहादुर रावल र साना वाम घटकहरु बीचको एकता हुन सक्ने बताउँछन् । उनीहरुको एकताबाट पार्टी नै निर्माण हुँने भन्दा पनि आन्दोलनको मोर्चा बन्ने सम्भावना देखिन्छ।     

    एमाले नेता भीम रावलले नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’ र नेता खड्ग विश्वकर्मासँग भेटेर छलफल गरिसकेका छन्। नेताहरुसँगको भेटको सन्दर्भमा रावलले ट्वीट गर्दै भनेका छन, ‘नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो।’ उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र  मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएकाले हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित ठानेको छु ।’ एमसीसी पारित पछि नेताहरु रावल, श्रेष्ठ र खनालको  पछिल्लो गतिविधिले नेपाली राजनीतिमा तरंग ल्याएको छ।


    जीवन शर्मा
    लेखकबाट थप